बाग्मती

केन्द्रीय कारागार कारखानाबाट सामग्री बिक्री

काठमाडौँ । केन्द्रीय कारागारस्थित कारखानाले चालू आर्थिक वर्षमा रु ५० लाख बराबरको सामग्री बिक्री गरेको छ । कारखानाले कैदीबन्दीले उत्पादन गरेका सुती र सुतीबाट रङ्गाइबुनाइ गरेका कपडा बिक्री वितरण गरेको हो ।

कारागार कारखानाका प्रमुख रामहरि ढुङ्गेलले दैनिक १५० कैदीबन्दीले उत्पादन गरेको सामान बिक्री वितरण गरेर चालू आवमा रु ५० लाख आम्दानी गरेको बताए। “आम्दानी भएको पैसा कारागार कारखानाअन्तर्गत रहेको पूँजी परिचालन कोषमा जम्मा हुन्छ, उक्त पैसा धागो किन्न र केही पैसा काम गरेबापतको कैदीबन्दीलाई ज्यालास्वरुप दिइन्छ”, उनले भने । पूँजी परिचालन कोषमा हाल रु एक करोडभन्दा बढी नगद रहेको छ ।

कारखानाले गत आवमा मात्र रु ७२ लाख मूल्यबराबरको सामग्री बिक्री वितरण गरेको थियो । कारखानाले हरेक वर्ष ३५ कैदीबन्दीलाई सिलाइबुनाइसम्बन्धी तालिम समेत प्रदान गर्दै आइरहेको ढुङ्गेलले बताए । कैदीबन्दीले उत्पादन गर्ने सामग्री ठमेल, नयाँ सडक र नेपाल वायुसेवा निगममा बिक्री वितरण हुँदै आइरहको छ । एक मिटर कपडा बुनेबापत एउटा कैदीबन्दीले छ रुपैयाँसम्म ज्याला पाउँदै आएको छ ।

सरकारले कारखानामा काम गर्ने कैदीबन्दीलाई प्रत्येक वर्षको दुई महीनाका दरले कैद भुक्तान समय मिनाहासमेत गर्ने गरेको छ । विसं २०१६ मा तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला प्रधानमन्त्री हुँदा शुरु भएको कारागार कारखानाले हालसम्म पनि कैदीबन्दीलाई काम लगाउँदै आएको छ । नेपालमा विसं १९७१ बाट कारागार शुरु भएको हो । हाल देशभर ७२ जिल्लामा ७४ कारागार रहेका छन् । काठमाडौँ र दाङमा दुई÷दुईवटा कारागार छन् भने धनुषा, बारा र भक्तपुर साथै पछि थपिएका दुई जिल्ला नवलपुर र रुकुम पश्चिममा पनि कारागार छैन । कारागार व्यवस्थापन विभागका अनुसार हाल देशभर २१ हजारको हाराहारीमा कैदीबन्दी रहेका छन् ।