समाचार

पर्यटन विकासका लागि रु ५२ लाख विनियोजन

हेटौँडा । मकवानपुर कैलाश गााउँपालिका–२ स्थित वैकुण्ठलाई पर्यटकीय क्षेत्रका रुपमा विकास, विस्तार एवं संरक्षण गर्न रु ५२ लाख ३० हजार बजेट विनियोजन गरी विभिन्न संरचना निर्माण कार्य शुरु भएको छ । बजेट विनियोजनसँगै कैलाश वैकुण्ठ पर्यटन विकासका लागि डिपिआरदेखि तामाङ सङ्ग्रहालय निर्माणलगायतका काम शुरु गरेको बताइएको छ । वैकुण्ठबाट कैलाश गाउँपलिकाको सम्पूर्ण वडाको अवलोकन गर्न सकिन्छ भने एतिहासिक विष्णु कुण्ड गुफालाई पनि अवलोकन गर्न सकिन्छ ।

सो गाउँपालिकाको अध्यक्ष टङ्क मुक्तानका अनुसार कैलाश वैकुण्ड पर्यटन विकासको डिपिआर, तामाङ सङ्ग्रहालय र विष्णु कुण्ड प्रतिक्षालय निर्माण तथा रानीपोखरीको पर्यटन विकासको डिपिआर निर्माणको कार्य पनि शुरु भएको छ ।

मकवानपुरको थाहा नगरपालिकाबाट करीब तीन घण्टाको दूरीमा कैलाश वैकुण्ठ पुग्ने बताइन्छ । धादिङको बेनीघाट रोराङ गाउँपालिकासँग सिमाना जोडिएको वैकुण्ठमा धादिङ, चितवन तथा काठमाडौँलगायतका पर्यटक आउने वातावरण रहेको कैलाश–२ का राम घिसिङले बताए । यसैबीच पर्यटकको सुविधाका लागि वैकुण्ठमा स्थानीयवासीको सहयोग र लागानीमा करीब दुई दर्जन घरवास निर्माण शुरु गरिएको गाउँपालिका–२ का वडाध्यक्ष राजेन्द्र घिसिङले भने । त्यस्तै कैलाश गाउँपालिका– ६ गल्छीमा बुद्धको मूर्ति पनि स्थापना गरिएको छ ।