कर्णाली प्रदेश

कर्णाली प्रदेशका १० जिल्लामा उजूरीको सङ्ख्यामा वृद्धी

दैलेख । कर्णाली प्रदेशका १० जिल्लामा उजूरीको सङ्ख्या हेर्ने हो भने सुर्खेत र दैलेखमा धेरै उजूरी परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको जानकारी अनुसार आव २०७५÷७६ को माघ मसान्तसम्म सुर्खेतमा परेका १४७ उजूरीमध्ये ५० फछर्यौट भएका छन् । दैलेखमा ११८ उजूरीमध्ये ३३ फछर्यौट भएका छन् । कर्णाली प्रदेशभरि यस आवको माघ मसान्तसम्ममा ६६९ उजूरी परेकामध्ये १८७ उजुरी फछर्यौट भएका छन् भने ४८२ उजूरीमा छानबीन भइरहेको छ ।

उजूरी पर्ने तेस्रो जिल्लामा जाजरकोट परेको छ । ९१ उजूरीमध्ये २१ फछर्यौट भएका छन् भने ७० वटा उजूरीमा छानबीन भइरहेको छ । उजूरी धेरै परेका सुर्खेत र दैलेखमा, भ्रष्टाचार निवारण अभियानमा जनतालाई सक्रिय सहभागी गराउन आयोगले अभियान थालेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतबाट आएको टोलीले दैलेखमा पहिलोपटक १५ सदस्य नागरिक निगरानी समूह गठन गरेको छ । अधिवक्ता दीर्घराज अधिकारीको संयोजकत्वमा गठित समूहले सम्भावित भ्रष्टाचारका क्षेत्रमा खबरदारी गर्ने, सुशासन र पैरवीका काम गर्ने, जनताले गरेका गुनासोलाई जनताकै रोहवरमा पैरवी गर्ने काम गर्नेछ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रमुख ज्ञानराज सुवेदीले निगरानी समूहले सम्भावित बेइमानीलाई निराकरण गर्ने, खबरदारी गर्ने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग नजिकबाट मिलेर काम गर्नसक्ने बताए । प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले भ्रष्टाचार नियन्त्रण अभियानमा सरकारी निकायबाट मात्र गाह्रो हुने भएकाले आम नागरिकले सही सूचना प्रदान गरेर, खबरदारी गर्नुपर्ने सुझाव दिए। सुशासन प्रवद्र्धन गर्ने संवैधानिक निकाय, सेवा प्रवाह गर्ने निकायसँगै र नागरिकको सहकार्य प्रभावकारी बनाउनका लागि नागरिक निगरानी केन्द्र गठन गरिएको हो । यो वर्ष मात्रै दैलेखका १८ जनाविरुद्ध विभिन्न विषयमा अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दर्ता गरिएको छ ।