पर्यटन/संस्कृति

सुनकोटको लेकसम्म पुग्न तीन किलोमिटर सिँढी बन्दै

घोराही । ऐतिहासिक एवं धार्मिक महत्व बोकेका पाण्डवेश्वर महादेव मन्दिरबाट सुनकोटको लेक पुग्ने सिँढी बनाइने भएको छ । धार्मिक एवं प्राकृतिक दृष्टिकोणले अति नै महत्वपूर्ण रहेको सुनकोटको लेक९डाँडा० पुग्नका लागि पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले पाण्डवेश्वर धाम र सुनकोटको लेकलाई सिँढीमार्फत जोड्ने योजना ल्याएको हो ।

समितिले उक्त विषयलाई विशेष प्राथमिकतामा राखेर काम थालिएको छ । घोराही उपमहानगरपालिका–५ स्थित उक्त लेक पुग्नका लागि चार हजार ९६३ सिँढी बनाउने निर्णय भएको पाण्डवेश्वर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार सिँढीका लागि अध्ययन गर्दा धारापानीबाट सुनकोटको लेकसम्म पुग्न करीब पाँच हजार सिँढी बनाउनुपर्ने एउटा अध्ययनले देखाएको छ ।

अध्यक्ष अधिकारीका अनुसार सुनकोटसम्म पुग्नका लागि सबै सिढीँ भक्तजनको दानबाट निर्माण गरिने छ । सुनकोटको भगवती मन्दिरसम्म पुग्नका लागि नापजाँचको सबै काम पूरा भएको र ५०० भक्तजनले सिँढी निर्माणका लागि समितिमा नामसमेत दर्ता गराइसकेका छन् भने प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले २४ वटा सिँढी बनाउने घोषणा गर्नुभएको छ ।

समितिका कोषाध्यक्ष विष्णुराम आचार्यका अनुसार एउटा सिँढी रु २४ हजार ५५ को लागतमा निर्माण सम्पनन हुने इञ्जिनीयरले जानकारी गराएका छन् । सोहीअनुसार भक्तजनसँग रकम जम्मा गर्ने काम भइरहको छ । यस आधारमा रु ११ करोड ९३ लाख ८४ हजार ९६५ को लागतमा सम्पूर्ण सिँढी निर्माण हुने समितिले जनाएको छ । यी सबै रकम भक्तजनसँग उठाइने छ । प्रत्येक भक्तजनलाई एउटा मात्र सिँढी निर्माणको काम दिइने छ । सिँढी निर्माणमा सहयोग गर्ने भक्तजनले आफू र आफ्नो आफन्तको नाम त्यसमा लेख्न पाउने व्यवस्था छ ।