स्वास्थ्य

अस्पतालको सेवामा सुधार

नवलपरासी । पश्चिम नवलपरासीको परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा पछिल्लो पटक सेवा प्रवाहमा सुधार आएपछि बिरामी लाभान्वित बनेका छन् । स्वास्थ्यकर्मीको सधै अभाव हुने यस अस्पतालबाट अहिले स्वास्थ्यकर्मी बस्ने क्रम बढेसँगै सेवामा सुधार आउन थालेको हो ।

सधैँ चिकित्सक अभाव हुने पृथ्वीचन्द्र अस्पतालमा अहिले तीनजना विशेषज्ञ चिकित्सक छन् । ५० श्या र ५२ जना कर्मचारीको दरबन्दी रहेको यस अस्पतालमा ३१ जना स्वास्थ्यकर्मी कार्यरत छन् । अहिले विशेषज्ञ चिकित्सक आएपछि प्रसूतिसँगै उपचार सेवामा सुधार आउन थालेकाले बिरामीको चाप पनि क्रमशः बढ्न थालेको अस्पतालले जनाएको छ ।

पछिल्लो पटक प्रसूति सेवा समेत विस्तार भएपछि जिल्ला अस्पतालमा आएर प्रसूति सेवा लिने महिलाको सङ्ख्या बढेको देखिन्छ । अहिले मासिक करीब १४० जनाको प्रसूति हुने गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा अनन्त शर्माले जानकारी दिए । गत भदौमा शल्यक्रियासहितको प्रसूति सेवा विस्तार गरेपछि अहिले छ महीनाको अवधिमा १३० जनाको शल्यक्रियाबाट मात्रै प्रसूति सेवा प्रदान गरिएको उनले बताए । त्यसअघि सामान्य प्रसूति सेवा मात्र उपलब्ध थियो । अस्पतालका अनुसार गत आर्थिक वर्षमा ८८० जनाले प्रसूति सेवा लिएकामा अहिले चालु आवको छ महीनामै ८५७ जनाले प्रसूति सेवा लिएका छन् ।