समाचार

बम विष्फोटन गराउने पक्राउ नभएकामा गुनासो

काठमाडौँ । सांसदले सरकारले शान्ति सुरक्षाको प्रत्याभूति दिन नसकेको भनी गुनासो गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदले समाजमा मनोवैज्ञानिक त्रास खडा गर्ने उद्देश्यले दूरसञ्चार सेवा प्रदायकको कार्यालयमा बम विष्फोट र देशका विभिन्न २१ स्थानका टेलिफोन टावरमा आगजनी गरेको भन्दै शुक्रबार उक्त घटना भए पनि आजसम्म दोषी पक्राउ नपर्नु र कसले त्यस्तो घटना गराएको हो भन्ने पत्ता नलाग्नु आपत्तिजनक छ भने ।

आर्थिक समृद्धि र विकासको नाराका साथ सरकारले आफ्नो गतिविधि अगाडि बढाइरहेका बेला अन्तरराष्ट्रिय लगानीकै कम्पनीमा बम विष्फोट र आगजनी हुनुजस्ता घटनाले थप अन्तर्राष्ट्रिय लगानी आउन नसक्ने चिन्ता गर्दै उहाँहरुले दोषीलाई तत्काल कानूनी कारवाही गर्न माग गरे ।

सांसद दीपा गुरुङले सो घटनाकामृतकको परिवारलाई उचित राहत तथा क्षतिपूर्ति दिन र आश्रित परिवारको शिक्षा, स्वास्थ्य र जीवनयापनको व्यवस्था गर्न माग गरे । सांसद बद्री पाण्डेले समाजमा आतङ्क मच्चाउने र बम पड्काएर जनजीवन त्रस्त बनाउनेलाई कारवाही हुन नसकेको र दोषी पक्राउ पर्न नसकेकामा आपत्ति प्रकट गरे । उनले के कति कारणले सुरक्षामा कमजोरी देखियो, त्यसको उचित छानबिन हुनुपर्ने माग गरे । सांसद धना खतिवडा, नन्दा चपाईं, प्रकाश पन्थ, प्रमिला कुमारी, युटोल तामाङ, रमेशजङ्ग रायमाझी र रमेशप्रसाद यादवले पनि समसामयिक विषयमा ध्यानाकर्षण गराएका थिए ।