विचार/ब्लग

छाउपडी गोठका ती काहाली लाग्दा चार रात

दीपा जैशी/सुदूरपश्चिमका अधिकाँश जिल्लाहरु छाउपडि प्रथामा सुपरिचीत नै छन् । त्यहाँका सबै महिलाहरुको पिडा ब्यथा एउटै छ । कुनै पनि महिला यो कुप्रथा र कुसँस्कारबाट अछुत छैनन् । यसैसँग मिल्दो जुल्दो थियो हरिमाया (नाम परिवर्तन) को कथा पनि, उनले आफ्नो बिगत सम्झदै यसरी सुनाइन् । मेरो जन्म सामान्य परिवारमा भएको थियो । आफ्नो मेलो पाखामा काम गरेपछि खानलाउनलाई खासै दू.ख हूदैन थियो । मेरो बाल्यकाल अधिकाँस घाँस दाउरा र मेला पाखामा नै वितेको थियो ।

मैले उनको कुरालाई विचैमा काट्दै, सोधें तपाईको घरमा छाउपडी मान्छन् कि नाई, उनी मेरो प्रश्न प्रति अच्चमित हुदै भनिन्, यस्तो के सोधेकी छाउपडी नमानेर पनि हुन्छ । उनले आगाडी जोडिन् । जब म पहिलो पटक महिनावारी भएकी थिए, म सात कक्षामा पढ्थें । पहिलो पटक महिनावारि हुदाँ भैँसि गोठमा लुकेकी थिएँ । दिनभरी जङ्गलमा जान्थें घाँस दाउरा काट्थें साँझ भैँसिलाई खेले–घाँस गर्न बुवा गोठ आउनुहुन्थ्यो । बुवा नेवारपात गरि घर गइसके पछि म गोठको बुंईकलमा गइ सुत्थें ।

तपाइलाई घर परिवारले खोजेनन् ? अनि के खानु भयो ? को थियो तपाईसँग राती सुत्दा ? मैले फेरी प्रश्न तेस्याँए, उनले भनिन् म छाउ( नछुने) भएको कुरा थाहा पाएपछि वहिनीलाई भनेकि थिए, अनि उक्त कुरा बहिनीले घरमा भनिछन् । छाउ हुदा दाजु, बुवाको अर्थात केटा मान्छेलाई मुख देखाउनु हुन्न भने हाम्रो चलन छ यसै कारणले होला मेरो घर परिवारले मलाई घर नवोलाएका, गोठमा सुत भनेर आमाले नै बहिनीलाई भन्न लागाउनु भयो । मलाई खाना पुर्याउन राति बहिनी आउथिन् । गोठमा पुग्न घरबाट लगभग दश मिनेट लाग्थ्यो थियो ।

रात छिपिदै जादाँ मेरो धड्कनको सीमा पनि बढ्दै जान्थ्यो, यसो भन्दै गर्दा उनका आँखाबाट आशु खस्दै थिए, उनले भकानिदैै भनिन्, घरबाट आमाले कोदाको रोटी र नुन पठाकी हुन्थिन्, तरकारी भैँसिको घिउमा भुट्ने भएकाले घिउमा भुटेको खाना छाउभकि (परसरेकी) लाई दियो भने कुलदेवता रिसाउछन् भन्ने मान्यता थियो ।

कोदाको रोटी नुनसँग खादा घाँटी नै चिरेर लग्थ्यो तर पनि दिनभरिको भोकले गर्दा जर्वजस्ती खान्थें । रातभरि चरचुरुङ्गरी, जंगली जनावरहरुको चिचावट, लामा लामा मछड, झिँगाको गुनगुनावट र टोकावटले गर्दा निन्द्रा नै लाग्दैन थियो । त्यो गोठमा परालको गुल्जोको विछ्याउनामा डरले तरंगीत मुटुलाई समालेर केहि आँशु, केहि पसिना, केहि अनियन्त्रत रगतको मिश्रणसँगै चार रात विताएको तितो अनुभव भावविफोर हुदै उनले सुनाइन् ।

हरिमायाले भोगेको भोगाइ कथा जस्तो लाग्ला तर आम नेपाली अझै भन्दा सुदूरपश्चिमेली दिदी वहिनी सवैको यर्थाथता हो । महिलाहरु महिनावारी हँुदा छुवाछुत मान्ने घर भन्दा टाढा बसाउने परम्पराले छाउगोठमा महिलाहरु वलात्कृत हुने, सर्पको टोक्ने र चिसोकोले कठ्याङ्ग्रीएर अकालमै ज्यान गुमाइ रहेका छन् । यो कुसँस्कारको अन्त्य महिलाबाट मात्र सम्भव छ । यसको अन्त्यका लागि ठुलै अभियानको आवश्यकताको पनि जरुरी छैन । आ —आफ्नो घर परिवारसँगको सर्घष नै यो कुप्रथा अन्त्यको महान अभियान हुने छ । छाउपडी अन्त्यको लागी घर परिवारसँग गरेको अन्तर सँर्घष नै सम्पुर्ण महिलाहरुको ऐतिहासिक कदम हुने छ ।

छाउपडी प्रथाले महिलाहरुको अवस्था ज्यादै पीँडाजनक भएपनि राजनीतिक दल, स्थानीय सरकार, अगुवा महिलाहरु गलत परम्परा हटाउन नलागेपनि हामी आ आफ्नो स्थानबाट सानो पहलद गदै उक्त अभियानमा लाग्न जरुरी छ ।