बाग्मती

न्यायिक समितिमार्फत मुद्दाको छिनोफानो

भरतपुर । भरतपुर महानगरपालिकाको न्यायिक समितिले ७० मुद्दाको छिनोफानो गरेको छ । दोस्रो नगरसभापछि न्यायिक समितिले कार्यान्वयन गर्ने कार्यविधि बनेपश्चात सो अवधिमा ती मुद्दाको छिनोफानो गरेको हो ।

न्यायिक समितिमा परेकामध्ये ५० मुद्दा मेलमिलाप समितिबाट समाधान भएको र २० मुद्दा निर्णय भई अदालतमा सिफारिश भएको भरतपुर महानगरपालिकाका कानून अधिकृत खगेश्वर अधिकारीले बताए । उक्त अवधिमा ९७ मुद्दा दर्ता भएका थिए । अझै २७ मुद्दा छिनोफानो हुन बाँकी रहेको अधिकारीले जानकारी दिए । पन्ध्र मुद्दा मेलमिलाप समितिबाट निरुपण हुन बाँकी छ । महानगरपालिकाको न्यायिक समितिमा परेका मुद्दा सकेसम्म मेलमिलापबाट टुङ्ग्याउने प्रयास गरिएको उनले बताए ।

“हाम्रो प्राथमिकता मेलमिलाप गराउनु नै हो”, उनले भने, “यस अवधिमा श्रीमान–श्रीमतीको सम्बन्ध विच्छेद गरीपाऊँ भन्दै पुरुषका तर्फबाट ४० मुद्दा परेको छ ।” विसं २०७५ भदौ १ गतेदेखि नयाँ मुलुकी देवानी संहिता लागू भएपछि सम्बन्धविच्छेदका मुद्दा सिधै अदालतमा दर्ता हुने गरेका छन् । महानगरको न्यायिक समितिमा दर्ता भएका सम्बन्धविच्छेदका मुद्दा संहिता लागू हुनुभन्दाअघिको मात्र हो । भरतपुर महानगरपालिकाका २९ वटै वडामा मुद्दा पर्ने र त्यहीँबाटै समाधान हुने गरेको अधिकारीले जानकारी दिए ।

वडामा समाधान हुन नसकेका मुद्दा महानगरको न्यायिक समितिमार्फत समाधान गर्ने गरिएको उनको भनाइ छ । तेह्र मुद्दा छिनोफानोको तयारीमा रहेको महानगरपालिकाको न्यायिक समितिले जानकारी दिएको छ । घरभाडा, लेनदेन, जग्गा विवाद, बाटो विवाद, नक्सापासलगायत मुद्दा न्यायिक समितिमा दर्ता हुने गरेका छन् । महानगरपालिकाले प्रत्येक वडामा नयाँ मेलमिलापकर्ताको सूचीकृत गर्ने तयारी गरेको छ । प्रत्येक वडामा कम्तीमा पाँच मेलमिलापकर्ता राख्ने योजना महानगरको छ ।

सरसफाइ–हरियाली कार्यक्रम

महानगरपालिकाका सात वडामा सरसफाइ तथा हरियाली प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने भएको छ । चितवन क्षेत्र नं २ ९ख० अन्तर्गतका वडा नं २, ४, ५, ७, १०, ११ र १२ मा सो कार्यक्रम सञ्चालन गर्न लागिएको हो । कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकारबाट भरतपुर महानगरपालिकालाई सशर्त अनुदानतर्फ रु ५० लाख बजेट प्राप्त भएको सांसद विजय सुवेदीले जानकारी दिए । सात वडामा दुई÷दुई टोलका दरले १४ टोलका करीब तीन हजार परिवार कार्यक्रम लागू हुनेछ । भरतपुरलाई हरियाली बगैँचाका रुपमा स्थापित गर्न एकै पटक ३२ हजारभन्दा बढी बिरुवा रोप्ने योजना छ । “सफा हरियाली र सुन्दर शहरको परिकल्पना गरेका छौँ”, सुवेदीले भने, यसको शुरुआत घर र टोलबाट गर्दैछौँ ।” सातवटै वडामा कुहिने फोहरबाट मिथेन ग्याँस निकाल्ने र घरको पानी शुद्धीकरण गर्ने प्रविधि नमूनाको रुपमा परीक्षण गरिने सुवेदीले जानकारी दिए ।

फोहर व्यवस्थापनअन्तर्गत सचेतना, स्रोतकेन्द्र व्यवस्थापन, फोहर व्यवस्थापन र वर्गीकरण, शहरी वायोग्यास प्रविधि हस्तान्तरण, फोहर पानी व्यवस्थापन र पुनःप्रयोगका कार्यक्रम रहेको भरतपुर महानगरपालिकाका वातावरण अधिकृत सुशीला रेग्मीले जानकारी दिए । हरियाली प्रवद्र्धनअन्तर्गत महानगरलाई फलफूल बगँैचाको रुपमा परिणत गरिने उनले बताए । फलफूलका बिरुवा वितरणका लागि टोल छनोट भइसकेको र नक्साङ्कनको काम छिट्टै शुरु गरिने उनले बताए । “प्रत्येक वडाको दुई टोलमा बिरुवा वितरण गर्छौँ”, उनले भने, “प्रत्येक टोलमा २०० र प्रत्येक घरमा साना÷ठूला गरी सातका दरले बिरुवा वितरण गर्ने योजना बनाएका छौँ ।” सार्वजनिक स्थानमा रोपिने बिरुवा संरक्षणवापत केही रकमसमेत प्रदान गरिने रेग्मीले बताए ।

कार्यक्रम कार्यान्वयन र सरोकारवालाबीच समन्वयका लागि सात सदस्यीय उपभोक्ता समितिसमेत निर्माण गरिएको छ । भरतपुर महानगरपालिकाका कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले कार्यक्रम सफल बनाउन उत्प्रेरणा र सहभागिता बढाउनुपर्ने बताए । उनले भने “हामीले कल्पना गरेको समाज हामी आफैँबाट शुरुआत गर्न यो कार्यक्रम प्रभावकारी हुनेछ ।”

कृषि तथा वन विज्ञान विश्वविद्यायलका सहायक डिन कल्याणी मिश्र त्रिपाठीले स्मार्ट घर, टोल र शहर निर्माणका लागि कार्यक्रम महत्वपूर्ण भएको बताए । “यो कार्यक्रमले घरमै स्वच्छ र स्वस्थ्य खान पाइन्छ”, उनले भने, “पर्यावरणलाई सन्तुलित राख्दै हरियाली प्रवद्र्धन हुन्छ ।” उलेले फोहर व्यवस्थापनको दायित्व महानगरको मात्र नभएको र प्रत्येकले आफ्नो घरको फोहर आफै व्यवस्थापन गर्नुपर्ने बताए।