मनोरञ्जन

उत्कृष्ट चलचित्रको अवार्ड ‘डाइङ क्याण्डल’ लाई

काठमाडौँ । ‘दोस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आज यहाँ सम्पन्न भयो । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा गत बिहीबारबाट शुरु भएको महोत्सवमा उत्कृष्ट कथा चलचित्रको अवार्ड ‘डाइङ क्याण्डल’ (निब्दो मैनवत्ती)ले हात पारेको छ । नरेशकुमार केसीद्वारा निर्देशित उक्त चलचित्रलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नगद रु ५० हजारसहित उक्त अवार्ड प्रदान गरेका हुन् ।

यसैगरी केसीले नै उत्कृष्ट कथा निर्देशकको समेत अवार्ड पाएका छन् । उत्कृष्ट स्क्रीन चलचित्र अवार्ड शिवम् अधिकारीद्वारा निर्देशित ‘पञ्चायत’ चलचित्रले प्राप्त गरेको छ । छोटो चलचित्रमध्येबाट शेनाङ्ग ग्याम्जो तामाङद्वारा निर्देशित चलचित्र ‘सुपरमोङक’ उत्कृष्ट भएको छ । यस्तै छोटो चलचित्रबाट उत्कृष्ट निर्देशकको अवार्ड ‘मदर’ चलचित्रका निर्देशक परिच्छेद सेनले प्राप्त गरेका छन् ।

यसैगरी अन्तर्राष्ट्रियतर्फ छोटो चलचित्रमा बङ्गलादेशको ‘मिन अल्याप’ उत्कृष्ट भएको छ । सुवर्ण सेन्जुटि तुल्सीद्वारा निर्देशित उक्त चलचित्रले नगद रु ५० हजार प्राप्त गरेको थियो । यस्तै उत्कृष्ट कथा चलचित्र सिङ्गापुरको ‘द ल्याण्ड इमेज’ले प्राप्त गरेको छ ।

महोत्सवको समापन अवसरमा उपप्रधान तथा रक्षामन्त्री पोखरेलले महोत्सवले मुलुकको राष्ट्रिय एकता र विविधतालाई जोड्ने बताए ।

उनले यस्ता महोत्सवले विभिन्न मुलुकको सांस्कृतिक र कुटनीतिक क्षेत्रलाई नजिक ल्याउन सहयोग पु¥याउने बताउँदै समाजमा कतै नसुनिएका र नदेखिएका कुरालाई चलचित्रले कलाको माध्यमबाट प्रस्फुटन गराउनुपर्ने धारणा व्यक्त गरे ।

उपप्रधानमन्त्री पोखरेलले देश र श्रमको सम्मान, आफ्नो संस्कृतिको पहिचान र मुलुकलाई एकतामा बाध्ने खालका चलचित्र हुनुपर्नेमा जोड दिदैं सरकारले कानून र संरचना निर्माणमा ढिलो नहुने गरी काम गरिरहेको जानकारी दिए ।

नेपालका लागि बाज्रिलका राजदूत मारिया टेरेसा मेस्कुरा पेसोआले यस्ता महोत्सवले विभिन्न देशको सांस्कृतिक एकतालाई नजिक ल्याउने बताए ।

पाँच दिनसम्म राष्ट्रिय सभागृहमा सञ्चालन भएको महोत्सवमा नेपालसहित बङ्गलादेश, चीन, भारत, अमेरिका, जापान, सिङ्गापुर, मलेसिया, फिलिपिन्सलगायत ३० देशका छोटा र लामा चलचित्रले भाग लिएको प्रतिष्ठानका अध्यक्ष केपी पाठकले जानकारी दिए ।

उनले विभिन्न ६०० चलचित्रबाट ६० वटा उत्कृष्ट चलचित्रलाई प्रदर्शनमा राखिएको जानकारी दिए ।