पर्यटन/संस्कृति

पर्यटकको आकर्षण बन्दै मानहुँकोट

दमौली । तनहुँको सदरमुकाम दमौली नजीकै रहेको मानहुँकोट कुनै समय ‘बत्तीमुनिको अँध्यारो’ को रुपमा परिचित थियो । दमौलीबाट करीब आठ किलोमिटर दूरीमा रहेको यस ठाउँ पुग्न केही वर्ष अघिसम्म पैदल बाहेक अरु विकल्प थिएन । पैदलमार्ग हुँदै मानहुँकोटसम्म पुग्न दुई घण्टा भन्दा बढी समय लाग्थ्यो ।

सदरमुकामबाट नजीकै रहेर पनि ओझेलमा पर्दैआएको मानहुँकोट अहिले भने पर्यटकको आकर्षण बन्दैछ । अहिले मानहुँकोट पुग्ने पर्यटकलाई पैदल हिँड्नुपर्दैन, सवारीसाधनबाट करीब २५÷३० मिनेटमै पुग्न सक्ने भएको छ । एक किलोमिटर बाटो कालोपत्र भइसकेको यस ठाउँमा कालोपत्र गर्ने काम भइरहेको छ । आर्थिक वर्ष २०७५÷७६ मा अलैचेबाट मानहुँकोटसम्म नै सडक कालोपत्र गर्ने तयारी भइरहेको छ । केन्द्र सरकारको दश करोड बजेटबाट सडक कालोपत्र गर्न बाटो निर्माणको काम थालिएको हो ।

मानहुँकोटबाट दमौली बजार छर्लङ्ग देखिन्छ । यसले गर्दा पछिल्लो समयमा यहाँ पर्यटकको घुइँचो नै लाग्ने गरेको छ । मानहुँकोटमा अन्य दिनभन्दा शनिबार र सार्वजनिक बिदाको दिन अत्यधिक भीड हुने गरेको छ । दमौली बजार र हिमालका शृङ्खलाहरु मनमोहक देखिने भएकाले आफू बेला–बेलामा यहाँ आउने गरेको बताउनुहुन्छ व्यास नगरपालिका–१ का शैलेश हड्खले ।  उहाँ भन्नुहुन्छ – “मानहुँकोट दृश्यावलोकनका लागि निकै मनमोहक छ । दमौली बजार आसपासका क्षेत्र कुहिरोले घेरेको हेर्दा निकै आनन्द लाग्छ ।”

जाडो मौसममा न्यानो घाम र बिहान सूर्योदय र बेलुकाको अस्ताउँदो सूर्य नजीकबाट नियाल्न पाउँदा आनन्द लाग्ने बताउनुहुन्छ रिसिङ गाउँपालिका–१ की बसन्ती आले । उहाँका अनुसार मानहुँकोटबाट देखिने हिमाल तथा समथर फाँट, नदीनालाले निकै मनमोहक बनाउँछ ।विशेष गरेर आन्तरिक पर्यटकको रोजाइको केन्द्रको रुपमा विकास हुँदै गएको मानहुँकोट तनहुँको पर्यटकीय सम्भावना बोकेको पर्यटकीय स्थल समेत रहेको बताउनुहुन्छ व्यास नगरपालिका वडा नं ५ का अध्यक्ष मोहनकुमार श्रेष्ठ । दृश्यावलोकनको लागि महत्वपूर्ण गन्तव्यको रुपमा रहेको मानहुँकोटको प्रचारप्रसार हुन सकेकै कारण यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको श्रेष्ठले बताउनुभयो ।

व्यास नगरपालिका–५ र म्याग्दे गाउँपालिका–१ लाई समेटेको यो मगर समुदायको बसोबास रहेको क्षेत्र हो । मगर समु्दायको संस्कृति यो ठाउँको अर्को आकर्षण हो । मानहुँकोटबाट माछापुच्छ्रे अन्नपूर्ण लगायतका हिमशृङ्खला साथै सदरमुकाम दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युत्को ड्याम निर्माण स्थल एवं मनोरम दृश्यहरु देख्न सकिन्छ । मानहुँकोट प्राकृतिक सुन्दरताले धनी भएपनि पर्याप्त पूर्वाधार निर्माण नहुँदा अझै सोचे जति विकास हुन नसकेको बताउनुहुन्छ स्थानीय गोपीराम थापा । मानहुँकोटको प्रचारप्रसारका लागि चण्डीपूर्णिमाको अवसरमा कौराहा उत्सव गर्ने गरिएको छ ।

समुद्री सतहदेखि एक हजार १०० मिटर उचाइमा रहेको मानहुँकोटमा शनिबार र विदाको दिनमा ५०० भन्दा बढी पर्यटक पुग्ने गरेका छन् ।मानहुँकोटको विकासका लागि व्यास नगरपालिकाले पूर्वाधार निर्माणमा समेत ध्यान दिएको छ । नगरपालिकाले मानहुँकोटको गुरुयोजना निर्माण गरी यसको विकासका लागि काम थालेको बताउनुहुन्छ नगर प्रमुख बैकुण्ठ न्यौपाने । उहाँका अनुसार मानहुँकोटको पर्यटन प्रवद्र्धनका लागि भ्युटावर बनाउने तयारी गरिएको छ । यसका लागि नगरपालिकाले ३० लाख बजेट समेत विनियोजन गरिसकेको छ ।भ्युटावर बनेपछि यहाँबाट मादी र सेती नदीमा बनाइने ड्याम, विभिन्न हिमशृङ्खला, तनहुँ, कास्की, नवलपरासी, गोरखा लगायतका जिल्लाका मनोरम दृश्यको साथै फाँटहरू सजिलै देख्न सकिन्छ । नगरपालिकाले मानहुँकोटमा केबुलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययनसमेत थालेको छ ।