पर्यटन/संस्कृति

जनकुपरमा अन्तर्राष्ट्रिय नाट्य महोत्सव

जनकपुरधाम । जनकपुरधाममा जनकपुर साहित्य–कला एवं अन्तर्राष्ट्रिय नाट्य महोत्सव–२०७५ हुने भएको छ । मैथिली विकास कोषद्वारा आयोजना हुने सो महोत्सवमा मैथिली भाषा, साहित्य–कला, संस्कृतिका साथै समसामयिक विषयमा विमर्श एवं नेपाल, भारत, बङ्गलादेश र अफगानिस्तानको नाटक प्रदर्शन गरिने कार्यक्रम रहेको छ ।

कोषद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कोषका अध्यक्ष जीवनाथ चौधरीले सो जानकारी दिँदै महोत्सवमा आधुनिक तथा लोककला प्रदर्शन, मिथिला चित्रकला, सिक्की र बाँसको कलात्मक सामग्री प्रदर्शन तथा वैचारिक र दार्शनिक विषयमा छलफल पनि गरिने बताए । यही फागुन १८ देखि २३ गतेसम्म महोत्सव चल्नेछ ।

महोत्सवमा प्रदेशको सांस्कृतिक परिचय र मिथिला, मैथिली भाषामा जातीय विभाजनको प्रभाव, मैथिली भाषा–साहित्य संरक्षणमा चुनौती र निदान, मातृभाषा, संस्कृति र युवा, मैथिली फिल्मको सम्भावना, स्थानीय तहमा मातृभाषामा शिक्षण, केन्द्रीकृत पत्रकारिता र मिथिला, प्रदेशको भाषा र नामाकरण विषयमा विमर्श गरिने कार्यक्रम रहेको छ ।

नेपालमा मैथिली लेखनको अवस्था, मिथिला चित्रकलामा सिर्जन र व्यवस्थापन, समकालीन मैथिली रङ्गमञ्च, मैथिल समाजमा महिलाको सामाजिक सांस्कृतिक भूमिका, नेपाल र भारतको मैथिली लेखनमा तात्विक भिन्नता, कथा र कवि गोष्ठीको आयोजना पनि महोत्सवमा गरिने जनाइएको छ ।