समाचार

शुभारम्भ नहुँदै घरबासमा आन्तरिक पर्यटक

दमौली । औपचारिक शुभारम्भ नहुँदै तनहुँको भिमाद नगरपालिका–९ पाथर्दीस्थित घरबास ९होमस्टे० मा आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेको छ । घरबाससम्बन्धी तालीम लिएर बसेका स्थानीय आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेपछि खुशी भएका छन् । फागुनभित्रै औपचारिक रुपमा उद्घाटन गर्ने तयारी गरिएको घरबासमा देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक आउन थालेको पाथर्दी घरबास व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार आलेले बताए ।

“तालीमसमेत सम्पन्न भई औपचारिक उद्घाटनको तयारीमा रहेका छौँ”, उनले भने, “तर यतिबेला देशका विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक यहाँ आउन थालिसक्नुभएको छ ।” सञ्चारमाध्यमबाट प्रचारप्रसार भएपछि झापादेखिका आन्तरिक पर्यटक केही दिनअघि मात्रै आएर घरबासमा रात बिताएको आलेले जानकारी दिए । उनका अनुसार झापाका विभिन्न पाँच वटा सहकारीका सदस्यले एक रात घरबासमा बिताएका थिए । त्यस्तै धादिङ, स्याङ्जा र तनहुँकै विभिन्न ठाउँबाट समेत पर्यटक घरबासमा आउने गरेका छन् । आलेका अनुसार विदेशीको एक टोलीले समेत यहाँ बास बसिसकेको छ । त्रिभुवन विश्वविद्यालयबाट वन विज्ञान अध्ययनरत विद्यार्थीको एक टोली एक हप्ताको लागि यहाँ आउने तयारी गरेको आलेले जानकारी दिए।

यहाँको १० घरमा घरबासको व्यवस्था गरिएको छ । घरबासमा आउने पर्यटकलाई स्वागत सत्कारदेखि खानाको परिकार बनाउनेलगायतका तालीम स्थानीयले लिइसकेका छन् । केही दिनअघि मात्रै खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागले समेत खाद्य स्वच्छतासम्बन्धी तालीम सम्पन्न गरिसकेको छ । यस ठाउँमा एकै दिनमा ३० सम्मले बास बस्न सक्ने क्षमता छ । यहाँ आउने पर्यटकलाई प्राङ्गारिक खाना खुवाउने गरिएको छ । अध्यक्ष आलेका अनुसार पर्यटकलाई भट्ट, कोदोको रोटी, ढिडो, लोकल कुखुरा, निउरोलगायतका खानेकुरा दिइन्छ । एक छाक सादा खाना र एक छाक मासु खाना र बास बसेको रु एक हजार २०० लिइने उनले बताए । पर्यटकलाई रातको समयमा स्थानीयले सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गर्ने गरेका छन् ।

भिमाद नगरपालिका–९ का वडाध्यक्ष इमान थापाले वडालाई पर्यटन र कृषिबाट समृद्ध बनाउने गरी योजना बनाइएको जानकारी दिए । यस ठाउँमा रहेका सिद्धगुफा, चुलिडाँडा, इन्द्र झरनालगायतलाई एउटै मार्गमा जोड्दै पर्यटन पूर्वाधारको लागि अध्ययनसमेत गरिएको छ । त्रिभुवन विश्वविद्यालयका वन्यजन्तुविद् डा हरि शर्मा र वनस्पति एवं जडीबुटी विज्ञ डा रिपु कुँवरको नेतृत्वमा यहाँ अध्ययन गरिएको थियो । सोही ठाउँमा रहेको इन्द्र झरनामा व्यावसायिक क्यानोनिङ सञ्चालनका लागिसमेत तालीमको आयोजना गर्न लागिएको छ । घरबास व्यवस्थापन समितिका अध्यक्ष आलेका अनुसार नेपालभरिका प्रशिक्षक बोलाएर यहाँ तालीम गर्ने तयारी गरिएको छ ।