कृषि

चैते धानको बीउ सुक्न थाल्यो

धम्बोजी । दुई बाली धानखेती गर्न सकिने भन्दै हौसिएका बर्दिया राजापुरका किसान चैते धानको बीउ मर्न थालेपछि चिन्नित बनेका छन् । भौरा क्षेत्रको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकालाई धान उत्पादनको दृष्टिले उपयुक्त मानेर राजापुर क्षेत्रलाई प्रधानमन्त्री कृषि सुपरजोनसमेत घोषणा गरिएको हो ।

राजापुरमा चैते धानको बीउमा ढुसीजन्य रोग लागेको स्थानीयवासी शान्ति थारूले बताए । राजापुरमा दुई बाली धानखेती गर्न सकिने प्रशस्त सम्भावना देखिएपछि किसानलाई कृषि सेवा केन्द्रबाट धानको बीउ अनुदानमा वितरण गरिएको थियो । “धानको बीउ राम्ररी त उम्रियो तर बेर्ना मर्न थालेको छ”, थारूले भने। प्राविधिकले भनेझैँ मेहनत गरी १० कट्ठामा बीउ रोप्न राखे पनि बीउ मरेर सकिन थालेको उनको भनाइ छ । “बजारबाट विषादी ल्याएर त छरियो तर बीउ हुने नहुनेमा आफू दोधारमा परेकी छु”, थारूले भने ।

धानको बेर्नामा रोग लागेको गुनासो लिएर आएका किसानको खेतमा प्राविधिक टोली पठाइने र आफू स्वयं पनि जाने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान सुपरजोन कार्यक्रम राजापुरका वरिष्ठ कृषि अधिकृत वीरेन्द्र पराजुलीले बताए ।

क्षेत्रीय बीउबिजन अनुसन्धान केन्द्रबाट पनि विज्ञ टोली बोलाएर किसानलाई प्राविधिक सहयोग गर्न सकिने पराजुली बताए । “चैते धानको बेर्ना जरै कुहिएर मरेको भए बीउ बिग्रने तर टुसा मात्र मरेको रहेछ भने फेरि बेर्ना पलाउँछ”, उनले भने । बीउमा विषादी ल्याएर छर्न कृषकलाई अनुरोध गरिएको पराजुली बताए।