बाग्मती

पाँच महीनामै ३४ अर्बको खाद्य पदार्थ आयात

काठमाडौँ । कृषि गणना २०६८ अनुसार नेपालमा ७३ दशमलव नौ प्रतिशत जनता कृषि कर्ममा संलग्न छन् । सरकारले लामो समयदेखि नेपाललाई कृषि प्रधान देशका रूपमा चित्रण गर्दै सोहीअनुसारको व्यवहार गर्दै आएको छ तर चालू आर्थिक वर्षको पाँच महीनामा मात्रै चामल, मकै, भटमास, स्याउजस्ता खाद्य पदार्थको आयात रु ३४ अर्ब २१ करोड बराबरको भएको छ ।

कृषि पेशामा संलग्न हुनसक्ने युवा जनशक्ति वैदेशिक रोजगारीका लागि विदेशिएका छन् । स्वदेशमा नै रहेका युवासमेत शहरी तथा सुगम क्षेत्रमा रहँदा ग्रामीण तथा तराईका खेतीयोग्य जमीन बाँझो बन्दै गएको छ । आव २०७४र७५ मा मात्रै रु ७३ अर्ब १६ करोड बराबरको चामल, मकै, स्याउ, भटमास, आलु आयात भयो । चालू आवको पाँच महीनामा रु १३ अर्ब ५८ करोड बराबरको चामल आयात भयो । आव २०७४र७५ मा रु २९ अर्ब ५३ करोडको चामल आयात हुँदा आव २०७३र७४ मा रु २३ अर्ब ८७ करोडको आयात भएको थियो । मसिनो र बास्नादार चामलको माग बढ्दा चामलको आयात बढेको स्वयम् सरकारकै भनाइ छ । अर्को तथ्याङ्क पनि छ । नेपालका प्रमुख बालीमध्ये मकै एक हो तर चालू आवको पाँच महीनामा रु पाँच अर्ब १९ करोडको मकै आयात भयो । आव २०७४र७५ मा रु १२ अर्ब ५५ करोड र आव २०७३र७४ मा रु १० अर्ब ६३ करोडको मकै आयात भयो । हरेक वर्ष चामल र मकैको आयात बढिरहेको छ । विप्रेषणबाट प्राप्त भएको ठूलो परिमाणको रकम खाद्यान्नको खरीदका लागि खर्च हुने गरेको डरलाग्दो तथ्याङ्क सार्वजनिक भएको छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रस्तुत गरेको तथ्याङ्कलाई नै आधार मान्ने हो भने चालू आवको पाँच महीनामा रु सात अर्ब पाँच करोडको भटमास आयात भएको छ । आव २०७४र७५ मा रु १८ अर्ब १५ करोड र आव २०७३र७४ मा रु १६ अर्ब ९७ करोड बराबरको भटमास र भटमासको तेल आयात भएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार नेपालका करीब ४५ लाख युवा वैदेशिक रोजगारीमा छन् । उनीहरुले वार्षिक नेपालमा पठाएको ठूलो परिमाणको विप्रेषण अनुत्पादक क्षेत्रमा खर्च भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आव २०७४र७५ मा रु सात खर्ब ५५ अर्ब छ करोड विप्रेषण आप्रवाह भएको थियो । चालू आवको दोस्रो त्रैमाससम्ममा रु चार खर्ब ४३ अर्ब ३६ करोड विप्रेषण आप्रवाह भएको छ ।

चालु आवको पाँच महीनामा मात्रै रु तीन अर्ब ९९ करोडको आलु आयात भएको छ । चिप्स प्रयोजनका लागि आलुको आयात बढिरहेको छ । नेपालमा चिप्सका लागि आलु खासै उत्पादन गरिँदैन । आव २०७४र७५ मा रु छ अर्ब ३५ करोड र आव २०७३र७४ मा रु पाँच अर्ब ५२ करोडको आलु आयात भएको छ । यस्तै चालु आवको पाँच महीनामा रु दुई अर्ब ५६ करोडको स्याउ आयात भएको छ । आव २०७४र७५ मा रु पाँच अर्ब ६३ करोड र आव २०७३र७४ मा रु चार अर्ब ८७ करोडको स्याउ आयात भएको थियो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार कृषिउपज आयात ठूलो मात्रामा भइरहेको छ ।