स्वास्थ्य

स्वास्थ्य शिविरमा महिलाका समस्या बाहिर आउन थाले

बेझाड । गाउँ गाउँमा आयोजना हुने स्वास्थ्य शिविरले महिलाका समस्या बाहिर ल्याउन ठूलो सहयोग मिलेको छ । महिला सकेसम्म स्वास्थ्य संस्थामा पुगेर आफ्ना समस्या बताउन हिचकिचाउने गर्छन् । यसले गर्दा पनि उनीहरु भित्रभित्रै रोगसँग लडेर बाँचिरहेका हुन्छन् । भित्रभित्रै रोगले पीडित बन्छन् तर सम्बन्धित ठाउँमा समस्या लिएर जाने गर्दैनन् ।

यस्ता महिलाका लागि गाउँ गाउँमा बेलाबेलामा आयोजना हुने स्वास्थ्य शिविरमा समस्या लिएर पुग्ने गरेको पाइएको छ । पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा सञ्चालन भएको एकदिने महिला प्रजनन स्वास्थ्य जाँच शिविरमा गाउँका महिलाले आफ्ना समस्या लिएर पुगेको पाइयो । स्वास्थ्य संस्थाको हातामा पुगेर आफ्ना समस्या स्वास्थ्यकर्मीसँग बताउन लाज मान्ने, डराउने महिला यहाँ आयोजना भएको शिविरमा भने मज्जाले समस्याबारे जानकारी गराएका छन् । शिविरमा सेवा लिएका १६५ महिलामध्ये ६२ महिलामा सेतो पानी बग्ने, तीन जनामा रिङ प्रेसर देखिएको र दुईलाई थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभाष पठाइएको छ ।

शिविरमा २५ महिलामा अनियमित महीनावारी हुने, ५० मा बाथसम्बन्धी समस्या, १५ जनामा लुतो, पाँच जनामा आङ खस्ने समस्या देखिएको रम्भा गाउँपालिका स्वास्थ्य शाखा संयोजक महेश आचार्यले बताए । साथै शिविरका अवसरमा सात महिलाले परिवार नियोजनका साधन इम्प्लान्ट तथा आयुसिडी सेवा लिएका छन् । गाउँपालिकाको आर्थिक सहयोग, लुम्बिनी मेडिकल कलेज प्रभाष, जिल्ला स्वास्थ्य कार्यालय र नेपाल परिवार नियोजन सङ्घ पाल्पाको प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको हो । महिलाको आङ खस्ने समस्या, अनियमित महीनावारी हुने जस्ता समस्यालाई समयमा नै पहिचान गरी रोग निराकरण गर्न शिविरले महत्वपूर्ण सहयोग पुगेको स्वास्थ्य कार्यालय पाल्पाका अधिकृत कल्पना पौडेलले बताए ।

“स्वास्थ्य चौकीमा जान हिचकिचाएर रोग लुकाएर बसेका महिला यसरी गाउँ गाउँमा आयोजना हुने शिविरमा आएर आफ्ना समस्या बताउन सक्नेभएका छन्”, उनले भने । गाउँगाउँमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिन थालेपछि ग्रामीण भेगमा बसोबास गर्ने, स्वास्थ्य सेवाको पहुँचदेखि टाढा रहेका नागरिकलाई ठूलो सहयोग पुगेको छ । गाउँपालिकाको नीति तथा कार्यक्रमअनुसार गाउँगाउँमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले शिविर आयोजना गरिएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए। जिल्ला स्वास्थ्य कार्यालय, लुम्बिनी मेडिकल कलेज प्रभाष, जिल्ला अस्पताल, नेपाल परिवार नियोजन सङ्घ पाल्पा, ताहुँ प्राथमिक स्वास्थ्यचौकी र स्थानीय स्वास्थ्य एकाइमा कार्यरत १७ स्वास्थ्यकर्मीसहितको टोलीले शिविरमा सेवा दिएको हो ।