कृषि

खेतबाटै आलु बिक्री गर्दै महिला

बेझाड । रामपुर नगरपालिका–६ का महिलालाई यतिबेला खेतबाटै आलु बिक्री गर्न भ्याइनभ्याइ छ । समूहमा लगाएको आलुको उत्पादन राम्रो भएपछि आलु खन्ने र खेतबाटै बिक्री गर्ने काममा दिनभर यहाँका महिला व्यस्त छन् ।

नदी किनार आयआर्जन महिला कृषक समूहले यसवर्ष सात रोपनी क्षेत्रफलमा तीन क्वीन्टल आलु लगाएको छ । अहिले आलु खन्ने र बिक्री गर्ने कार्यमा महिला व्यस्त रहेको समूहका अध्यक्ष भगवती देवकोटाले बताउनुभयो । “बिहान घरको काम सकेर छोराछोरीलाई विद्यालय पठाएपछि दिनभर खेतमै दिदीबहिनीसँग आलु खन्ने र बिक्री गर्ने काममा व्यस्त रहन्छौ”, उहाँले भन्नुभयो । अहिले खेतबाटै तीन क्वीन्टल आलु बिक्री भइसकेको छ । करीब तीस क्वीन्टल आलु उत्पादन हुने समूहका सचिव सीता देवकोटाले बताउनुभयो ।

“आलुको उत्पादन सोचेभन्दा राम्रो भएको छ, आलु बिक्रीबाट लिएको आम्दानी समूहको कोषमा बचत गर्ने र आवश्यक परेका बेला चलाउछौँ” सचिव देवकोटाले भन्नुभयो ।

समूहमा खेती गर्दा निकै रमाइलो भएको सदस्य हुमा देवकोटा बताउनुहुन्छ । उहाँले सात रोपनी जग्गा समूहलाई निःशुल्क तरकारी लगाउन उपलब्ध गराउनुभएको छ । समूहले खेतबाटै प्रतिकिलो रु २० मा आलु बिक्री गर्दै आएको छ । रातो, कार्डिनल र जनकदेव जातको आलु खरीद गर्ने ग्राहकको दिनभर खेतमा चहलपहल छ । महिला समूहले लगाएको आलुको उत्पादन अवलोकन गर्नेको पनि निकै हुन्छन् । समूहमा २० जना महिला मिलेर सामूहिक आलुखेती गरेका छन् । समूहले अब लहरेबाली तरकारी लगाउने तयारी गरेको छ ।

आलु खेतीका लागि रामपुर नगरपालिका–६ ले बीउ खरीदमा रु २५ हजार रकम सहयोग गरेको वडा अध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिनुभयो । वडालाई कृषिमा अगाडि बढाउने प्रयत्नका साथ महिला समूहलाई व्यवसायमा हौसला बढाउन विभिन्न कृषिका कार्यक्रम सञ्चालन गरिरहेको उहाँको भनाइ थियो ।