समाचार

जोखिमपूर्ण यात्रामा रहेका १९ महिला फिर्ता

राँझा । नेपालगञ्ज नाकाबाट भारततर्फ जोखिमपूर्ण यात्रामा रहेका नेपाली १९ महिलालाई फिर्ता गराइएको छ । नेपालगञ्जबाट दिल्ली जाने बसमा सवार उनीहरुलाई नेपालगञ्जस्थित सीमाक्षेत्र जमुनाहबाट फिर्ता गरिएको इलाका प्रहरी कार्यालय जमुनाहका इञ्चार्ज प्रहरी नायव निरीक्षक वसन्त बस्नेतले जानकारी दिए ।

उनका अनुसार शुक्रबार राति १० र शनिबार राति नौ जना गरी १९ महिलालाई फिर्ता गरिएको हो । “दिल्ली जाने बसमा जाँच गर्दा शङ्का लागेपछि माइती नेपाल र साना हात संस्थासँगको सहकार्यमा सोधपुछ र परामर्शका लागि रोक्ने गरेका छौँ”, इञ्चार्ज बस्नेतले भने, “कतिपयले खाडीमुलुक र इराक जानेसम्मका कुरा गरेकाले आवश्यक परामर्शका लागि माइती नेपालको जिम्मा लगाउने गरेका छौँ ।”

सीमा नाकाबाट फिर्ता हुनेमा मोरङ, नुवाकोट, धादिङ, मकवानपुर, चितवन, गुल्मीका महिला रहेका छन् । उनीहरुलाई माइती नेपालको नेपालगञ्जस्थित कार्यालयमा राखेर परामर्श र पारिवारिक पुनरमिलनको लागि पहल भइरहेको माइती नेपालका संयोजक केशवराज कोइरालाले बताए ।

“विभिन्न जिल्लाका महिला दाङ पुगेर दिल्लीको बस चढ्नु आफैँमा शङ्कास्पद कुरा हो, त्यसैले हामीले उनीहरुलाई रोकेर परामर्श गरिरहेका छौँ” कोइरालाले भने, “परामर्शपछि धेरैजसोले आफ्नो यथार्थता बताइसएकेका छन्, उनको परिवारसँग सम्पर्क गरी पारिवारिक पुनरमिलन गराउँदैछौँ ।”