सुदूरपश्चिम

विकास निर्माणमा ठेकेदारको बेवास्ता

भीमदत्तनगर । सम्झौता गर्दा २०७३ असोजमै सक्नुपर्ने कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लास्थित धारापानी सिँचाइ आयोजना अझै सम्पन्न हुन सकेको छैन । दुई प्याकेजमा ठेक्का सम्झौता गरिएको भए पनि पानीको मुहान (इन्टेक) तर्फको निर्माणको जिम्मा पाएको ‘आशिष कन्ट्रक्सन धनगढी’ले दुई पटक समयावधि थप गर्दा पनि काममा ढिलासुस्ती गरेको पाइएको छ । पछिल्लो समय निर्माण पक्ष सम्र्पकमा नआए पनि सिँचाइको पाइप बिछ्याउने काम गरिरहेको छ ।

दोस्रो पटक काम गर्न समय थप गरे पनि वर्ष दिन बितिसकेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय भीमदत्तनगरले जनाएको छ । सिँचाइ आयोजनाको नहर, कल्भर्टलगायत पूर्वाधार निर्माणका लागि उक्त निर्माण कम्पनीसित २०७२ असार २५ मा रु चार करोड १५ लाखको सम्झौता भएको थियो । कार्यालयबाट लिखितरुपमा ताकेता हुँदा पनि ठेकेदार कम्पनीले बेवास्ता गर्र्दै आएको छ ।

“हालसम्म गरेको कामबापतको रु दुई करोड ६७ लाख भुक्तान लिइसकेको छ”, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख अजितकुमार श्रीवास्तवले भने । कृष्णपुर नगरपालिकाको ३०० हेक्टर जमीनमा सिँचाइ पुग्ने गरी सो आयोजना निर्माण थालिएको थियो ।  त्यसैगरी कष्णपुर नगरपालिकाकै बंक–नायल– बुडर सडकखण्डअन्तर्गत खार खोला र ओदाली खोलामा पुल निर्माण सम्झौता सकिएको एक वर्ष बितिसक्दा पनि पुल निर्माण हुन सकेको छैन । पुल निमार्णको जिम्मा पाएको‘ थेगिम गाल्वा कन्सट्रक्सन’ले निर्माणमा गरेको बेवास्ताका कारण पुल कहिले बनिसक्ने भन्नेमा स्थानीयबवासी चिन्तित छन् । हालसम्म पुलको पिल्लर निर्माणबाहेक अरु कुनै काम भएको छैन ।

विसं २०७३ भदौमा ठेक्का सम्झौता भएको पुल निमार्णको काम २०७४ फागुनमा सक्नुपर्ने थियो । तोकिएको समयभन्दा एक वर्ष बढी बितिसक्दा पनि निर्माण कम्पनी मौन छ । वर्षात्को बेला पुल नहुँदा हिँडडुल गर्न समस्या हुने गरेको स्थानीयवासी सुनिल भण्डारीले बताए । पुल निर्माणमा निकै ढिलासुस्ती भएको छ । काम नगर्नेलाई छुट दिन नहुने उनको भनाइ छ ।

ओदाली खोलाको बीच भागमा एउटा मात्रै पिल्लर गाडिएको छ । खार खोलामा पिल्लर उठाउने काम सुस्त गतिमा छ । डिभिजन सडक कार्यालय कञ्चनपुरले पुल निर्माणमा बेवास्ता गर्ने उक्त निर्माण कम्पनीमाथि कारवाही प्रक्रिया अघि बढाइएको जनाएको छ । खार खोलाको ६० प्रतिशत काम सकिएको छ । ओदाली खोलाको २५ प्रतिशत मात्रै काम भएको छ । डिभिजन सडक कार्यालय कञ्चनपुरका प्रमुख लक्ष्मीदत्त भट्टले पुल निर्माण कम्पनीलाई समयमै काम सक्न पटक÷पटक पत्राचार गरिएको बताए । उनले कम्पनीलाई आगामी चैत मसान्तभित्र काम सक्न समयावधि दिइएको बताए । खार खोलामा पुल निर्माणका लागि रु ६ करोड ५९ लाख ६७ हजारमा ठेक्का सम्झौता भएको थियो भने ओदाली खोलामा रु पाँच करोड ४७ लाख चार हजारमा ठेक्का सम्झौता भएको थियो ।