लुम्बिनी

शङ्करप्लाजाको आगलागीबाट एक करोडको क्षति

बुटवल । बुटवल उपमहानगरपालिकाको मुख्य व्यापारिक केन्द्र अमरपथस्थित वडा नं ४ शङ्करप्लाजामा लागेको आगलागीबाट सो भवनमा सञ्चालित फेन्सी पसलको करीब रु एक करोडको क्षति भएको छ ।

आगलागीबाट सो भवनमा सञ्चालित बिन्दवासिनी फेन्सी जलेर पूर्णरुपले क्षति भएकाले प्रारम्भिक अनुमानमा रु एक करोड बढीको नोक्सान भएको प्रहरीले जनाएको छ ।

राति करीव १० बजेदेखि लागेको आगो मध्यराति करीव १२ः३० मा मात्र नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब निरीक्षक डिलबहादुर मल्लले जानकारी दिए ।

शङ्करप्लाजामा रहेको बिन्दवासिनी फेन्सीबाट एक्कासी लागेको आगो सो भवनमा रहेका अन्य पसलमा समेत सरेको थियो । आगलागीबाट बिन्दवासिनी फेन्सीमा पूर्ण क्षति भएको प्रहरी नायब निरीक्षक मल्लले जानकारी दिए ।

उक्त फेन्सीका सञ्चालकले राति पसल बन्द गरेको केही समयपछि उक्त पसलबाट नै आगलागी शुरु भएको प्रहरीको अनुमान छ । पसलमा रहेको विद्युत् लाइन सर्ट हुनाले आगलागी सोही पसलबाट शुरु भएको हो ।
बुटवल उपमहानगरपालिका, रामग्राम नगरपालिका, सिद्धार्थनगर नगरपालिका लगायतका दमकलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय बासिन्दासमेतको प्रयासबाट आगलागी नियन्त्रणमा ल्याइएको हो ।