राजनीति

देशको समृद्धिको लागि म फरक सङ्कल्पसहितको अभियानमा छुः डा भट्टराई

अछाम । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले आर्थिक विकास र समृद्धिको उडान भर्नका लागि आफू फरक सङ्कल्पसहित अघि बढेको बताएका छन् ।

अछाम सदरमुकाम मङ्गलसैनमा नयाँ शक्ति पार्टी नेपालले गरेको जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले आर्थिक विकास र समृद्धि एउटै व्यक्तिले गरेर नहुने भन्दै आफू विकास र समृद्धिका लागि नै पूर्व पश्चिम जनसंवादमा हिँडेको र आफ्नो कुनै पनि स्वार्थ नरहेको बताए ।

देश बनाउने हो भने पछिल्लो ज्ञान–विज्ञानलाई पछ्याउनुपर्ने भन्दै पूर्वप्रधानमन्त्री भट्टराईले त्यसअनुरुप नै आफूले मध्यपहाडी क्षेत्रमा पूर्वदेखि पश्चिमसम्मको गतिविधिहरु नियाँल्नका लागि यात्रा गरेको बताए ।

मध्यपहाडी लोकमार्ग निर्माणका लागि आफू अर्थमन्त्री हुँदा नै परिकल्पना गरेर अगाडि बढाएको भन्दै उनले नेपालको तीव्र विकासका लागि मध्यपहाडी लोकमार्गसँगै हुलाकी मार्ग पूर्व पश्चिम र कर्णाली, कोशी, बाग्मती र गण्डकी करिडोरका रुपमा उत्तर दक्षीण मार्ग तथा सहायक रुपमा सेती, महाकालीजस्ता मार्ग खोल्नुपर्ने बताए।