राजनीति

काङ्ग्रेसले धेरै सत्ता चलाएपनि दीर्घकालिन सोच अभाबका कारण देश विकास गर्न सकेनः नेता खनाल

इनरुवा । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले दुई तिहाइ सरकारसँग चिडिएको नेपाली काङ्ग्रेस अनरगल प्रचारबाजीमा जुटेर भ्रम पैदा गराउने खेलमा लागेको आरोप लगाएका छन् ।

सुनसरीको दक्षिणी क्षेत्र देवानगञ्ज गाउँपालिकामा आज आयोजित बृहत् सभा तथा कार्यकर्ता प्रवेश कार्यक्रममा नेता खनालले जनमतबाट बढारिएको काङ्ग्रेसले सरकारलाई कमजोर देखाउन हरसम्मत प्रयास गरिरहेको बताए । “काङ्ग्रेस पार्टीभित्रको बढ्दो असन्तुष्टि र गुटका कारण अत्तालिएको छ”, उनले भने, “काङ्ग्रेस नेकपाको सरकार विरुद्धको दुष्प्रचारमा केन्द्रीकृत छ ।”

विभिन्न समयमा मुलुकको बागडोर सम्हाले पनि दीर्घकालिन सोच र दूरदृष्टि अभावका कारण नेपाली काङ्ग्रेसले देश र जनताको सवालमा केही गर्न नसकेको नेता खनालको आरोप थियो । मुलुकको समृद्धि र विकासमा वर्तमान सरकारले कायापलट गरेको उनको दाबी थियो ।

नेकपाका प्रदेश नं १ इञ्चार्ज भीम आचार्य, प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियैतलगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा रामचरण मेहता, रामचन्द्र मेहतासहित काङ्ग्रेस, राजपा र सङ्घीय समाजवादी फोरमका ३०० भन्दा बढी स्थानीय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेको बताइएको छ ।