शिक्षा

शिक्षक बनाइदिने भन्दै घुस मागेपछि अख्तियारले पक्राउ गर्यो

काठमाडौँ । शिक्षक पदमा नियुक्ति दिने भन्दै विद्यालय व्यवस्थापन समितिका सदस्यले एक युवकसँग घुस लिएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो पटक शिक्षकमा नियुक्ति गरिदिने भन्दै घुस लिएको अभियोगमा विद्यालय व्यवस्थापन समितिका सदस्यलाई पक्राउ गरेको छ ।

उक्त अभियोगमा कपिलवस्तु यशोधरा गाउँपालिका–३ कृष्ण धार्मिक माविका विद्यालय व्यवस्थापन समितिका सदस्य विजयनाथ चोवेलाई पक्राउ गरेको छ । विद्यालयले विज्ञापन गरेको अङ्ग्रेजी विषयको माध्यमिक विद्यालय तहको अनुदान शिक्षक दरबन्दीमा शिक्षक नियुक्ति गरिदिने भन्दै चोवेलाई रु एक लाख घुस लिँदै गरेको अवस्थामा आयोगको एक टोलीले शनिबार पक्राउ गरेको हो ।

प्रवक्ता रामेश्वर दङ्गालका अनुसार आयोगले कपिलवस्तु नपा–१ को एक होटलबाट चोवेलाई शनिबार पक्राउ गरेको हो । यस्तै सप्तरीको साबिक खोक्सर प्रवाहा गाविसका तत्कालीन गाविस सचिव कृष्णबहादुर दाहाल समेतले सरकारी रकम हिनामिना गरेको अभियोगमा विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।

तत्कालीन गाविस सचिव दाहालले गाविसका लागि निकासा भएको सरकारी अनुदान रकमको स्रेस्ता बरबुझारथ, लेखापरीक्षणसमेत नगरी रु पाँच लाख ३३ हजार ८०० बराबरको हिनामिना गरेको पाइएको आयोगले जनाएको छ ।

यस्तै आयोगले नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाका बाइसीदेवी प्राथमिक विद्यालयमा अध्यापन अनुमतिपत्र नभएका व्यक्तिलाई परीक्षामा सामेल गरेको भन्ने उजुरीका आधारमा शिक्षक वाल्मीकि गुप्ताविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अस्थायी अध्यापन अनुमतिपत्रमा अनधिकृत र गैरकानूनी तवरले म्याद उल्लेख भएको भाग मेटाई झुट्टा विवरण पेश गरेको पाइएको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए ।