लुम्बिनी

जिल्ला अस्पताल बन्ने

कावासोती । नवलपरासी पूर्व नवलपुरको कावासोतीमा जिल्ला अस्पताल निर्माण हुने भएपछि यस क्षेत्रका स्थानीय खुशी भएका छन् । जिल्लामा सुविधासम्पन्न अस्पताल नभएको अवस्थामा जटिल प्रकृतिको रोगको उपचारका लागि भरतपुरसम्म धाउनुपर्ने वाध्यता रहेको छ । तर अब जिल्लामा नै सुविधा सम्पन्न सरकारी जिल्ला अस्पताल निर्माण हुने भएपछि यस क्षेत्रका बासिन्दा खुशी भएका छन् ।

“उपचारका लागि धेरै समस्या रहेको थियो, केही भयो कि भरतपुर दौडिन पथ्र्यो”, मध्यविन्दु–३, का तिकलबहादुर भट्टराईले भन्नुभयो, “अब सरकारी जिल्ला अस्पताल यहीँ बनेपछि सुविधा होला ।” नवलपुरको सदरमुकाम कावासोती क्षेत्रमा केही निजीस्तरका अस्पताल भए पनि जटिल प्रकारका उपचार नहुँदा बिरामी चितवन धाउनुपर्ने अवस्था रहेको छ । कावासोती–१०, का राधा चापागाईंले सरकारले कावासोतीको डण्डामा रहेको मध्यविन्दु अस्पताललाई जिल्ला अस्पताल बनाउने घोषणा गरेसँगै उपचारमा सहजता हुने बताए । “पहिले केही जटिल समस्या भए भरतपुर पुग्नु पथ्र्यो, अब जिल्ला अस्पताल यही बन्ने भएपछि सरलरुपमा सहजै स्वास्थ्य जाँचको सुविधा पाइनेभयो”, उनले भने ।

नवलपुरको राजमार्ग क्षेत्रमा सवारी दुर्घटनामा परी घाइते हुनेहरुले समयमा उपचार नपाउँदा ज्यान गुमाउनुपर्ने अवस्था रहेको छ । यहाँ दिनहँु जस्तो सवारी दुर्घटना हुने गरेका छन् । तर दुर्घटनाका घाइतेलाई उपचारका लागि चितवन पठाउनुपर्ने बाध्यता छ । चितवन अस्पतालसम्म पु¥याउन झण्डै ४०–४५ मिनेट लाग्ने गर्दछ । जटिल प्रकारका घाइतेलाई चितवन लैजाने क्रममै कतिपयको समयमा उपचार नपाउँदा बाटोमा नै ज्यान जाने गरेको छ । सुविधासम्पन्न जिल्ला अस्पताल यहीँ निर्माण भएसँगै दुर्घटनाका धेरै घाइतेको समयमा उपचार गरी ज्यान जोगाउन सकिने विश्वाससमेत लिइएको छ ।

सामुदायिक अस्पतालको रूपमा रहेको मध्यविन्दु अस्पताललाई जिल्ला अस्पताल बनाउन अस्पताल विकास समिति र यहाँका जनप्रतिनिधिले पहल थालेसँगै सरकारले समेत यसलाई सकारात्मकरूपमा लिँदै जिल्ला अस्पताल बनाउने निर्णय गरेको हो । “जिल्ला अस्पताल बनाउने निर्णय भइसकेको छ”, मध्यविन्दु अस्पतालका अध्यक्ष चेतनाथ पोखरेलले भने, “फागनु २७ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ जिल्ला अस्पताल घोषणाका लागि आउँदै छन् ।