लुम्बिनी

अन्योलमा खेलकूद, चिन्तित खेलाडी

बाँके । नेपालगन्जलाई केन्द्रमा राखेर आयोजना हुन लागेको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताले बाँकेवासीलाई खुशी तुल्याएको छ । बाँकेवासीसँगै खेलाडी र खेलप्रेमीहरु प्रतियोगिताको प्रतिक्षामा छन् । खेलक्षेत्रमै क्रियाशील खेलाडीका लागि यो महाकुम्भ हो, जसले आफ्नो नामसँगै दाम पनि कमाउन चाहेका छन् । प्रतियोगिताको मिति पटकपटक सारिँदा खेलप्रेमी र खेलाडीहरु भने यति बेला निराश बनेका छन् ।

“हामीहरुको यो उत्साह र जाँगरमा अङ्कुश लगाउने काम भएको छ । पटकपटक मिति सार्दा खेल क्षेत्रमा आफ्नो क्षमता प्रस्फुटन गर्नबाट बन्देज गराएको जस्तो आभास हामीलाई भइरहेको छ । हामी खेलक्षेत्रमै आफ्नो भविष्य बनाउन चाहन्छौँ”, एक खेलाडीले भने । पटकपटक मिति सारिरहँदा निराश भएका खेलाडीहरुको एउटै आग्रह छ, समयमै प्रतियोगिता सञ्चालन होस् । लामो समयदेखि प्रतियोगिताका लागि तयारी गरिरहेका खेलाडीहरु प्रतियोगिताको मितिमै अन्योल हुँदा मेहनत खेर गइरहेको बताउँछन् । तोकिएको मितिमा प्रतियोगिता नहुनु र पटकपटक मिति सारेर अन्योल हुँदा खेलाडी र खेलक्षेत्रप्रति आयोजकले बेवास्ता गरेको खेलप्रेमी दीपक हमालले बताए ।

उनले भनले, “खेलाडीलाई अवसर चाहिएको छ, त्यसतर्फ सम्बद्ध पक्षले चासो नदिँदा समस्या भएको छ ।” पटकपटक मिति सारेर आयोजकले खेलाडीलाई दुःख दिन नहुने उनको तर्क छ । प्रतियोगिता सञ्चालन गर्ने खेल मैदान र अन्य भौतिक संरचनाहरु समयमै निर्माण सम्पन्न नहुँदा खेलाडीहरु त्यसको मार परेका छन् । तोकिएको समयमा भौतिक पूर्वाधारहरु नबन्नु र प्रतियोगिताको मिति नतोकिनुले खेलाडीहरु अन्योलमा छन् । यसअघि मङ्सिर २५ गतेदेखि आयोजना हुने भनिएको प्रतियोगिता भौतिक संरचना र बजेट निकासा नभएको भन्दै राष्ट्रिय खेलकूद परिषद् (राखेप)

सो मितिमा पनि प्रतियोगिता हुन नसक्दा अन्योलता सिर्जना भएको छ । राखेपले सचिवालय नै स्थापना गरेर काम शुरु गरेको भएपनि यस वर्ष प्रतियोगिता हुनेमा आशङ्का बढेर गएको छ । राष्ट्रिय गौरवको प्रतियोगिताको मिति नै अन्योलमा राखेर खेलाडीलाई हौसला प्रदान गर्नुपर्नेमा मनोबल कमजोर बनाउन नहुने खेलप्रेमी श्याम गिरीको तर्क छ । प्रदेश ५ खेलकूद विकास समितिका अध्यक्ष भीम वलीले यसै वर्ष प्रतियोगिता सञ्चालन हुने दावी गरे । उनले भने, “पूर्वाधारको काम अन्तिम चरणमा पुगेको छ, यसै वर्ष प्रतियोगिता सम्पन्न हुन्छ ।” रङ्गशाला परिसरमै पौडी पोखरी, भारोत्तोलन, सुटिङ रेञ्ज निर्माण, कभर्डहल मर्मत अन्तिम चरणमा रहेको उनले बताए । खजुरामा भलिबल र कोहलपुरमा क्रिकेट मैदानको काम पनि अन्तिम चरणमा पुगेको छ ।