बाग्मती

गति सीमितका सूचना पार्टी स्थापना

सिन्धुली । सिन्धुलीको धुरा बजार क्षेत्रमा दुर्घटना बढेपछि न्यूनीकरण गर्न आज गति सीमितिका सूचना पार्टी राखिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको प्रयास र कमलामाई नगरपालिका–६ वडा कार्यालयको सहयोगमा गति सीमितका सूचना पार्टी राखिएको हो । धुरा बजारको सिरानदेखि ग्वाङ खोलाको पुलसम्म गति सीमितका २० वटा सूचना पार्टी राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सिधा सडक भएकाले तीव्र गतिका कारण दुर्घटना बढेको भन्दै न्यूनीकरण गर्न यस्तो अभियान शुरु गरिएको कार्यालयले जनाएको छ ।

आज जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंह र वडा नं ६ का वडाध्यक्ष उज्ज्वल थापाले सडकको बीचमा गति सीमित अधिकतम गति ३० लेखिएको सूचना पार्टी राखेर शुभारम्भ गरेका थिए । बजार क्षेत्रमा दैनिकजसो दुर्घटना हुने गरेको र अधिकांश दुर्घटना तीव्रगतिका कारण हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख विष्णु बस्नेतले जानकारी दिए । उनले सडकको बीचमा राखिएका गति सीमितको सूचना पाटीलाई रातको समयमा झिक्न र बिहान पुनः सडकको बीचमा राख्न आग्रह गरे ।

धुराबजार क्षेत्रमा हरेक ३०/३० मिटरमा गति सीमितका सूचना पार्टी राखिएको र अधिकतम गति ३० भन्दामाथि रहने सवारीलाई कारवाही गर्ने जिल्ला ट्राफिक प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेले जानकारी दिए । प्रहरीले गति मापन गर्ने र तीव्र गति रहेको पाइए ५०० देखि १५०० रुपैयाँसम्म जरिवाना गरिने उनको भनाइ छ । बजार क्षेत्रमा दुर्घटना न्यूनीकरण गर्न अन्य बजार क्षेत्रमा समेत यस्ता बोर्ड राखी बजारलाई दुर्घटनामुक्त बनाउने उनको भनाइ छ ।

ट्राफिक प्रहरीले गति सीमितका बोर्ड राखेपछि धुरावासीले सुरक्षित महसुस गरेको जयमान तामाङले बताए । सिन्धुलीका बजारमा तीव्रगतिका कारण दुर्घटना बढेको भन्दै दुर्घटना न्यूनीकरणका उपाय प्रहरीले अपनाइरहेको छ । बजार क्षेत्र दुर्घटनाको उच्च जोखिम रहेको भन्दै त्यस्ता स्थानमा गति सीमित गराउन ट्राफिक प्रहरीले सक्रियता देखाएको छ ।