सुदूरपश्चिम

महिलालाई अण्डाः शिशुलाई लुगा

डोटी । दिपायल सिलगढी नगरपालिका वडा नं ९ कलेनाका सुनौला हजार दिनका सुत्केरी तथा गर्भवतीलाई अण्डा वितरण गरिएको छ । नगरपालिका बहुक्षेत्रीय पोषण योजना अन्तर्गत वडा नं ९ कलेनामा सञ्चालित दुई पोषण परामर्श केन्द्रबाट ६६ गर्भवती तथा सुत्केरीलाई अण्डा वितरण गरिएको नगरपालिकाका पोषण सम्पर्क व्यक्ति रमेशचन्द्र जोशीले जानकारी दिए ।

कलेनाभित्र रहेका ६६ गर्भवती तथा सुत्केरीलाई एक एक क्यारेट अण्डा वितरण गरिएको हो । स्थानीय तालीमप्राप्त पोषण सहजकर्ताले पोषण परामर्श केन्द्रमा पोषण, सन्तुलित आहार, घरायसी सरसफाइ,, तरकारी खेती तथा लैङ्गिक हिंसाजस्ता विषयमा जानकारी दिने गरेको बहुक्षेत्रीय पोषण योजनाका जिल्ला संयोजक चाणक्य अधिकारीले जानकारी दिए ।

अर्को पटक नगरपालिकाका वडा नं ३ दिपायल र वडा नं ५ मा अण्डा वितरण गरिने नगरपालिकाले जनाएको छ । यसैगरी सामुदायिक विकास केन्द्र डोटीले आफ्नो कार्यक्षेत्रका चार हजार बालबालिकालाई न्यानो लुगा वितरण गर्ने भएको छ । वल्र्ड भिजन इण्टरनेशनल नेपाल र सामुदायिक विकास केन्द्र डोटीबीचको साझेदारीमा सञ्चालित बाल स्पोन्सरसीप परियोजनाअन्तर्गत लुगा वितरण गर्न लागिएको कार्यक्रम संयोजक रामचन्द्र जोशीले जानकारी दिए ।