कृषि

भारतीय गोलभेडाले नेपाली गोलभेडा बिकेन

वीरगञ्ज । सरुहठ्ठा–९ रौतहटका किसान मो। उस्मानले उत्पादन गरेको गोलभेडा बिकाउन नसक्दा यसवर्ष उनी आर्थिक मारमा परेका छन्। अन्य वर्षको तुलनामा यस वर्ष गोलभेडाको उत्पादन राम्रो भए पनि भारतीय गोलभेडाको आयातका कारण उहाँको व्यापरमा प्रत्यक्ष असर परेको हो ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत लालबन्दी बजार गोलभेडको मुख्य बजार हो । तरकारी खेतीका लागि उर्वर भूभि मानिएको सर्लाहीमा यसवर्ष गोलभेडा उत्पादन उल्लेखनीय वृद्धि भएपनि भारतबाट सस्तोमा भित्रिएको कारण लालबन्दी बजारमा गोलभेडाको व्यापारमा असर परेको किसानहरुको गुनासो छ ।

गत वर्षको तुलनामा यस वर्ष राम्रो उत्पादन भए पनि भारतीय गोलभेडा भित्रिएपछि नेपाली गोलभेडाले उचित मूल्य पाउन नसकेको गुनासो अर्का किसान जयदेव घिसिंगको छ । यसवर्ष शीतलहर नचलेकाले गोलभेडाको उत्पादन राम्रो भए पनि भारतीय गोलभेडाको आयातले नेपाली गोलभेडाले उचित मूल्य पाउन नसकेको हो । घिसिंगले भने “गत वर्षको तुलनामा यस वर्ष दुईगुणा बढी गोलभेडा फलेपनि सस्तोमा बेच्नुपर्ने बाध्यताले खर्च धान्नै गाह्रो परेको छ ।”

सर्लाही जिल्लाको नवलपुर, सासापुर, अत्रौली, लालाबन्दी, हरिओन, हुर्कौली, रानीगञ्ज, बेलवास, बबरगञ्ज, बेलालगायत ठाउँका किसानले व्यावसायिक रुपमा गोलभेडा खेती गर्दै आइरहेका छन् । त्यहाँबाट दैनिक १०० टनभन्दा बढी गोलभेडा देशका मुख्य शहर काठमाडौँ, नारायणघाट, हेटौँडा, बुटवल, पोखरा, वीरगञ्ज, गौर, सिन्धुली, रामेछाप, लहान, इटहरीसम्म जाने गरेको कृषि उपज बजार सञ्चालक समिति लालबन्दीले जनाएको छ ।

भारतको सोनवर्षा नाकाबाट ठूलो परिमाणमा भित्रिने गरेको भारतीय गोलभेडा सस्तो भएकाले प्रतिस्पर्धा गर्न समस्या भएको छ । किसान बासुदेव महतोले भने “हामीले उत्पादन गरेका गोलभेडाले उचित मूल्य नपाउँदा यसपालि घाटा खाएर पनि बेच्नुपरेको छ ।

काठमाडौँ उपत्याकाको कालिमाटी र बल्खुको तरकारी बजारमा आफ्नो बर्चश्व राखेको सर्लाहीको गोलभेडाले यसपालि काठमाडौँमा पनि भाउ पाउन नसकेको गुनासो गर्दै किसान जोगेन्द्र महतोले भने, “यसपालि गोलभेडा राम्रो उत्पादन भएकाले राम्रै मूल्य पाइएला भनेको त भारतीय गोलभेडाको निर्वाध रूपमा आयातले सोचेजस्तो मूल्य पाउन नसकिएको हो ।”

लालबन्दीको तरकारी बजारमा १०० भन्दा बढी थोक तथा खुद्रा व्यापारीहरु व्यापारबाट एक हजारभन्दा बढी मानिस लाभान्वित हुँदै आएका र यसको व्यापार गर्नकै लागि रौतहट सरुहठ्ठाका २० व्यापारी लालबन्दीमा डेरा लिएर बस्दै आएका छन् ।

गोलभेडा र परवलका लागि ख्याति कमाएको लालबन्दीको तरकारी बजारमा भने यस वर्ष भारतीय गोलभेडाले कब्जा जमाएपछि किसानहरु गोलभेडा बेचेर सोचेजस्तो आर्थिक लाभ लिन नसकेको हुन् । दैनिक रु एक करोडभन्दा बढीको तरकारीको व्यापार हुने लालबन्दी बजारमा अहिले भारतीय गोलभेडाको कारण नेपाली गोलभेडा प्रतिकिलो रु ५ देखि १० सम्ममा बेच्नुपर्ने बाध्यता रहेको किसानहरुको गुनासो छ ।