गण्डकी प्रदेश

नदी नियन्त्रणको काम शुरु

बेनी । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारलाई म्याग्दी नदीको कटानबाट बचाउन नदी नियन्त्रणको काम शुरु भएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत गाउँपालिका र सङ्घीय सरकारबाट विनियोजन भएको रु ३३ लाख बजेटबाट बजार संरक्षणको लागि पक्की पर्खाल निर्माण शुरु गरिएको हो । दरबाङमा नदी कटान रोक्न गाउँपालिकाले रु आठ लाख बजेट विनियोजन गरेको थियो भने प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापामार्फत स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत रु २५ लाख बजेट विनियोजन भएको थियो ।

सङ्घीय सरकारसँगको साझेदारी कार्यक्रमको रूपमा उपभोक्ता समितिमार्फत नदी नियन्त्रणको काम अघि बढाइएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले जानकारी दिए । जनप्रिय माध्यमिक विद्यालयको पुरानो खेलकूद मैदानको छेउबाट बजारतर्फ कटान रोक्न पर्खाल निर्माण भइरहेको छ । यो वर्ष ४० मिटर पक्की पर्खाल निर्माण गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष रोकाले बताए ।

योजनामा स्थानीय उपभोक्ताले समेत श्रमदान गर्ने र योजनालाई गुणस्तरीय बनाउन नियमित अनुगमन गरिने गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले जानकारी दिए। सो योजनामा अर्थुङ्गेस्थित श्रीबक्स गुल्मका गुल्मपति राजन दाहालको नेतृत्वमा १५ सैनिक जवानले एक दिन श्रमदान गरेको उपाध्यक्ष बिटालुले बताए । वर्षातको समयमा नदीको धार बजारतर्फ सोझिन थालेपछि गत वर्षदेखि दरबाङमा नदी नियन्त्रणको काम शुरु भएको थियो । गतवर्ष गाउँपालिकामार्फत विनियोजन भएको रु १८ लाख बजेटबाट पक्की पर्खाल निर्माण शुरु गरिएको थियो ।