खेलकुद

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटको एशिया छनोट

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटको एशिया छनोट प्रतियागिताअन्तर्गत आज नेपालले हङकङ विरुद्वको खेलमा टस हारेर पहिले फिल्डिङको निम्तो पाएको छ ।

बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा दुवै टोली जीत निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रेका छन् । टस जितेपछि हङकङले पहिले ब्याटिङ गर्दैछ । त्यस्तै हङकङविरुद्ध नेपाल जीत निकाल्ने र अङ्क तालिकामा तेस्रो स्थानमा उक्लने उद्देश्यका साथ मैदानमा उत्रेको छ । जारी प्रतियोगितामा यसअघि तीन खेल खेलेको नेपालले दुई खेलमा जीत तथा एक खेलमा पराजय भोगेको छ । चार अङ्क जोडेको नेपाल अङ्क तालिकाको चौथो स्थानमा छ ।

प्रतियोगतामा नेपालले मलेशियालाई ३४ रनले हराएको थियो भने संयुक्त अरब इमिरेटस युएई लाई ७ विकेटले पराजित गरेको थियो । त्यस्तै नेपाल थाइल्याण्डसँग भने ५७ रनले पराजित भएको थियो ।

समान तीन खेल खेलको हङ्कङ तीनै खेलमा पराजित हुँदै अङ्कविहीन छ । हङ्कङ अङ्क तालिकाको छ्रैटौँ स्थानमा छ । राउण्ड रोबिनका आधारमा हुने उक्त छनोटको विजेताले आइसिसी महिला टी–२० विश्वकप छनोट–२०१९ प्रतियोगिता खेल्नेछ । एशिया छनोटमा नेपालसहित सात राष्ट्र प्रतिस्पर्धारत छन् । छनोटमा नेपाल, थाइल्याण्ड, युएई, मलेशिया, कुवेत, चीन र हङकङ सहभागी छन् ।