गण्डकी प्रदेश

दोहोरीको उपाधि गोर्खालाई

बलेवा । बागलुङ को बलेवामा जारी प्रथम बलेवा महोत्सवको अवसरमा आयोजित लोक दोहोरी गीत प्रतियोगिताको उपाधि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गोरखाले जितेको छ । शनिबार भएको अन्तिम चरणको प्रतिष्पर्धामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागलुङलाई पछि पार्दै गोरखाले उपाधि जितेको हो । प्रतियोगितामा दर्पण छायाँ दोहोरी साँझ पोखरा र राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान लमजुङले तेस्रो भएका छन् ।

उपाधि विजेता गोरखाले रु ३० हजार, दोस्रो भएको बागलुङले रु २५ हजार र तेस्रो भएका दुई समुहले रु १५÷१५ हजार प्राप्त गरेको दोहोरी गीत प्रतियोगिता निर्णायक समितिका संयोजक गायक पूर्ण परियारले जानकारी दिए । महोत्सवको अवसरमा आयोजित खुल्ला रत्यौली प्रतियोगितामा कुश्मा खरिया ग्रामीण महिला समूह पर्वत, प्रथम, कामना स्वालम्बी महिला समुह पैयुँपाटा, द्वितीय, गणेश मावि नारायणस्थान तृतीय र अभियान आमा समूह पैयुँपाटा सान्त्वना भएका छन् ।

बागलुङ नगरपालिका १४ मा रहेको स्थानीय नारायणस्थान सामाजिक सेवा प्रतिष्ठानको आयोजनामा फागुन २ गतेबाट शुरु भएको महोत्सव आइतबारसम्म सञ्चालनमा रहनेछ । महोत्सवबाट बलेवा क्षेत्रको प्रचारप्रसार गर्दै कृष्ण गण्डकी क्याम्पसको शैक्षिक उन्नयनका लागि कम्तीमा रु एक करोडको अक्षयकोष स्थापना गर्ने लक्ष्य राखिएको महोत्सव मूल आयोजक समितिका संयोजक भरत पौडेलले बताए । महोत्सवमा यस क्षेत्रका विभिन्न व्यक्तिले कृष्ण गण्डकी क्याम्पसको शैक्षिक विकासका लागि लाखौँ रकम आर्थिक सहयोग गर्दै आएका छन् ।