राजनीति

गलत र भ्रमित जनमतले समाजमा धरै विसङ्गति र विकृतिले जन्म लिन्छः अध्यक्ष दहाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले जनता टेलिभिजन नेपाली समाज र राष्ट्रलाई अगाडि बढाउने बैकल्पिक धार स्थापित गर्न महत्वपूर्ण अगुवाका रुपमा स्थापित हुने विश्वास व्यक्त गरेका छन् ।

जनता टेलिभिजनको स्टुडियो भवनको आज उद्घाटन गर्दै उनले भने, “वैचारिक निष्ठालाई विचलित हुन नदिने र जनताप्रतिको विश्वास तथा जनताका निम्ति गरिने काम आफ्नो आदर्शबाट दायाँ बायाँ हुन नदिने गरी तपाईँहरुले गर्नुभएको सङ्कल्पलाई मैले चुनौतीपूर्ण लिएको छु ।”

उनले टेलिभिजन प्रसारणको मात्र विषय नभई आर्थिक, राजनीतिक, सामाजिक र साँस्कृतिक दृष्टिकोणले नयाँ समाज निर्माणको महाअभियानको महत्वपूर्ण पक्ष भएको बताए। अध्यक्ष दाहालले भने, “कुनै पनि समाज कसरी अगाडि बढ्छ भन्ने कुन विचार, मूल्य र मान्यताद्वारा निर्देशित छ भन्नेमा भर पर्छ ।”

ठूला सकारात्मक तथा क्रान्तिकारी परिवर्तन निश्चित मूल्य मान्यताका आधारित भएर निर्माण गरिएको जनमतबाटै बन्ने उल्लेख गर्दै उनले गलत र भ्रमित जनमतले समाजमा धरै विसङ्गति र विकृतिले जन्म लिने बताए । अध्यक्ष दाहालले भने, “सही विचारका आधारमा जनमत निर्माण गर्ने निकै ठूलो काम हो, यो सरल काम होइन, दीर्घकालनीन र निरन्तर अघि लैजानुपर्ने काम हो ।”

लामो सङ्घर्ष र बलिदान पछि नेपालमा राम्रो राजनीतिक प्रणाली स्थापित भएको उल्लेख गर्दै उनले भने, “अहिलेको परिवर्तन गुणात्मक प्रकृतिको छ, यसले प्रणालीलाई नै परिवर्तन गरेको छ । ऐतिहासिक ढङ्गले एउटा प्रणालीको ठाउँमा नयाँ प्रणालीको विकास गरिएको छ । त्यसलाई संविधानले वैधानिकता दिएको छ ।”

संविधानले परिकल्पना गरेको समाजवाद र सामाजिक न्यायसहितको व्यवस्थालाई जनतासमक्ष सम्प्रषित गर्ने गहन जिम्मेवारी डिजिटल मिडियामा सङ्केन्द्रीत हुन आइपुगेको उनको भनाइ थियो ।