समाचार

पर्यटकीय क्षेत्रलाई एक अर्कासँग जोड्नसके समृद्धि सम्भबः सभामुख महरा

घोराही । सङ्घीय संसद्का सभामुख कृष्णबहादुर महराले घोराहीको पाण्डवेश्वर मन्दिरमा आयोजना गरिएको महायज्ञको आज उद्घाटन गरेका छन् ।

विश्वकै अग्लो त्रिशूल रहेको उक्त स्थानमा आयोजना गरिएको उक्त महायज्ञको उद्घाटन गर्दै सभामुख महराले पाण्डवेश्वर महादेव धामलाई रारा, लुम्बिनी र स्वर्गद्वारीसँग जोड्ने योजना बनिरहेको बताए ।

यस क्षेत्रको पर्यटन विकासका लागि पर्यटकीय क्षेत्रलाई एक अर्कासँग जोड्नसके पर्यटनमा समृद्धि आउन सक्ने उनको भनाइ छ ।

उनले पछिल्लो समय पाण्डवेश्वरको चर्चा सबैतिर बढेको भन्दै यसलाई अझ प्रचार गर्न र विकास गर्न आफूले सक्दो प्रयास गर्ने बताए ।
प्रदेश सांसद अमरबहादुर डाँगीले पाण्डवेश्वर मन्दिरलाई स्वर्गद्वारीसँग जोड्नका लागि संरचनाको विकास गर्नुपर्ने विचार राखे ।

कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य सङ्घ, स्थानीय जनप्रतिनिधिले सक्रिय सहभागिता जनाएका छन् । फागुन ११ देखि १८ गतेसम्म चल्ने महायज्ञको मुख्य वाचकमा चर्चित वाचक दिनबन्धु पोखरेल रहेका छन् ।