प्रदेश 2

ओली नेतृत्वको सङ्घीय सरकारले प्रदेश र स्थानीय दुवै तहको अधिकार खोस्योः नेता ठाकुर

धनुषा । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले नेकपा अध्यक्ष केपी ओली नेतृत्वको सङ्घीय सरकारले प्रदेश र स्थानीय दुवै तहको सरकारको अधिकार खोसेको आरोप लगाएका छन् ।

प्रदेशस्तरीय बैठकमा भाग लिन जनकपुरधाम आएका उनले शुक्रबार पत्रकारसँग सङ्क्षिप्त कुराकानी गर्दै सरकारले कानून निर्माणदेखि विकास निर्माणसम्मका कुरामा एकलौटी निर्णय गरिरहेको जिकिर गरे ।

“सरकार बनाउन हामीले समर्थन गरेका थियौँ न कि त्यसको पछिपछि हिँड्ने भनेर, राजपाको जारी प्रदेशस्तरीय बैठक सकिएपछि सङ्घीय सरकारविरुद्ध हामी कुन रुपमा अघि बढने बारे निर्णय लिनेछौँ”, उनले भने । उनले सरकारबाट समर्थन फिर्ता लिने नलिने बारे पार्टीभित्र छलफल जारी रहेको र केही दिनमै निष्कर्षमा पुग्ने बताए ।