खेलकुद

शहिद स्मृतिको उपाधि देशभक्तलाई

रुपन्देही । यहाँ सम्पन्न चौथौ शहिद स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि देशभक्त युवा क्लब नवलपरासीले हात पारेको छ । आज भएको फाईनल खेलमा सिद्धार्थ क्लब चपरहट्टीलाई २–१ गोल अन्तरले पराजित गर्दै देशभक्तले उपाधि चुमेको हो । उपाधिसंगै देशभक्तले नगद रु एक लाख एक हजार र मेडल, कप, तथा प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता सिद्धार्थले रु ५० हजार पाँच सय सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा देशभक्तका बिरेन्द्र सारु उत्कृष्ट गोलरक्षक, बिनोद केवट सर्वाधिक गोलकर्ता र सिद्धार्थका अनिष गुरुङ सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । शहिद स्मृति खेलकुद क्लबको आयोजना तथा मदन भण्डारी स्पोर्टस एकेडेमीको सहकार्यमा रामनगर मैदानमा भएको खेलका विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीलाई एक समारोहमा प्रदेश नं ५ का उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री लिला गिरी र नेकपाका केन्द्रिय सदस्य बामदेव क्षेत्रीले पुरस्कार वितरण गरेका थिए ।