समाचार

प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वलीको निधनप्रति दुःख व्यक्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यलय धुम्बाराहीमा आज आयोजित श्रद्धाञ्जलि सभामा प्रधानमन्त्री ओलीले प्रदेशसभा सदस्य वलीको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले नेकपाका एकजना होनोहार युवा नेताको निधनले सिङ्गो पार्टी र देशलाई नै क्षति पुगेकोे उल्लेख गरे। नेकपा अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले मृतकका परिवार, आफन्तजन र सम्पूर्ण पार्टीपङ्क्तिप्रति गहिरो समवेदना पनि व्यक्त गरेका छन्।

सोही अवसरमा प्रधानमन्त्री ओलीले स्वर्गीय वलीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउनु भएको थियो । विसं २०७४ मा भएको प्रदेशसभा निर्वाचनमा दाङको क्षेत्र नं ३ ‘ख’ बाट तत्कालीन नेकपा (एमाले) तर्फबाट वली प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।

केही दिनअघि सवारी दुर्घटनामा परी घाइते भएका प्रदेश सांसद वलीको ३७ वर्षको उमेरमा आज बिहान निधन भएको हो । वलीको पार्थिव शरीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेकपाका सचिवालय सदस्य बामदेव गौतम, नेकपाका महासचिव विष्णुप्रसाद पौडेल लगायतका नेताले श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।