लुम्बिनी

स्व. वलीको स्मरणमा प्रदेश सचिवालय बन्द

रुपन्देही । प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभा सदस्य उत्तरकुमार वलीको निधनले अपूरणीय क्षति भएको बताउनुभएको छ ।

प्रदेशसभाको एकवर्षे कार्यकालमा वलीको भूमिका प्रशंसनीय रहेको र प्रदेशसभामा सांसद वलीका अभिव्यक्ति तथा सहयोग सदा स्मरणीय रहने उल्लेख गर्दै उहाँ द्वारा जारी विज्ञप्तिमा भनिएको छ, “वलीको निधनले समाज र प्रदेशसभामा अपूरणीय क्षति पुगेको छ”, सभामुख घर्तीले वलीको निधनमा श्रद्धाञ्जलि प्रकट गर्दै परिवारजनमा समवेदना पनि व्यक्त गर्नुभएको छ ।

विज्ञप्तिमा आज एक दिन प्रदेशसभा सचिवालय बन्द रहने पनि बताइएको छ । सडक दुर्घटनामा परी घाइते हुनुभएका वलीको गएराति काठमाडौँको मेडिसिटी अस्पतालमा निधन भएको हो । गत माघ २४ गते प्रदेशसभा बैठक सकेर घर फर्किंदा उनले दाङको चिसापानीमा दुर्घटनामा परी घाइते भएका थिए ।