बाग्मती

दुई सडक कालोपत्र शुरु

मङ्गलबारे । चालू आर्थिक वर्षको बजेट योजनाबाट इलामको माङ्सेबुङ र फाकफोकथुम गाउँपालिकामा दुई सडक कालोपत्र गर्न शुरू गरिएको छ । जिल्लामै पहिलोपटक ग्रामीण भेगमा हुन लागेको कालोपत्र योजनाको शुरूआत भएको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) को ग्रामीण सडक सञ्जाल सुधार आयोजनामार्पmत रु ५९ करोड ८२ लाखको बजेट रहेका दुई सडक कालोपत्र गर्ने आयोजना शुरू भएको हो ।

उक्त बजेटले नेपालटार–शान्तिडाँडा–मङ्गलबारे–धुसेनी–गजुरमुखी–इभाङ–चतुरेमोड–दमक सडकको माङ्सेबुङ–२ इभाङको तिखेगोलाईदेखि माङ्सेबुङ–३ चतुरेसम्म १३।२७९ किलोमिटर सडक कालोपत्र गरिने भएको छ । त्यस्तै सोही बजेटले मङ्गलबारे–पुङफुङ–एकातप्पा–सिकारीभञ्ज्याङ–फाकफोकथुम–रवि सडकको मङ्गलबारे बसपार्कदेखि सिकारीभञ्ज्याङ जाने साढे नौ किलोमिटर सडक कालोपत्र गरिने भएको छ ।

गजुरमुखीधामदेखि साढे दुई किलोमिटर पश्चिम तीखेगोलाईदेखि चतुरेसम्मको सडक कालोपत्र गर्न थालिएको माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले जानकारी दिए । आयोजनाका लागि नेपाल सरकारको २० प्रतिशत र एशियाली विकास बैंक (एडिबी) को ८० प्रतिशत ऋण सहयोगमा कालोपत्र हुने भएको छ । गत मङ्सिर २५ गते आयोजना कार्यान्वयनका लागि कम्पनी र डोलिडारबीच सम्झौता भइसकेको छ । निर्माण हुने दुवै सडक कृषि सडकको मापदण्डका आधारमा निर्माण हुने भएका हुन् । ३।७५ मिटर चौडाइको कालोपत्र र नालीबाहेक ५।२५ मिटर सबवेससहित नाली निर्माण हुने भएको निर्माण कम्पनीका निर्देशक दीपक गौतमले जानकारी दिए ।