लुम्बिनी

प्रदेशसभा सदस्य ओलीको निधन

रुपन्देही । प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको निधन भएको छ । सडक दुर्घटनामा परी घाइते उनको गए राति निधन भएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।

गत माघ २४ गते प्रदेशसभा बैठक सकेर घर फर्किँदा ओली दाङमा दुर्घटनामा परी घाइते हुभएका थिए । टाउकोमा गम्भीर चोट लागेर अचेत अवस्थामा रहनुभएका ओलीको १६ दिनमा काठमाडौँको मेडिसिटी अस्पतालमा गए राति १ बजे निधन भएको अस्पतालले पुष्टि गरेको थियो ।

उनको पार्थीव शरीरलाई अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टी कार्यालय काठमाडौँमा राखिएको र दिउँसो हेलिकोप्टरमार्फत दाङ ल्याउने कार्यक्रम रहेको नेकपा प्रदेश कार्यालय सचिव बलराम अधिकारीले जानकारी दिए ।

प्रदेशसभा सदस्य ओलीको निधनमा प्रदेशसभाको १९ गते बस्ने बैठकमा शोक प्रस्ताव पारित गरिने सचिव पुनले जानकारी दिनुभयो । ओली पूर्व नेकपा एमालेबाट दाङको क्षेत्र नं ३ को ख बाट प्रदेशसभाका लागि सांसद बनेका थिए । दङ्गीशरण गाउँपालिका–६ लेटार निवासी ओलीका श्रीमती, दुई छोरा छन् ।