समाचार

‘नेपाल हिन्दु, बौद्ध र किरातको उद्गम स्थल होः अध्यक्ष कमल

कठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले स्वधर्मको रक्षा गर्दै भौतिकसँगै आध्यात्मिक विकास हुनुपर्नेमा जोड दिएका छन् ।

पार्टीको भ्रातृ सङ्गठन नेपाल सनातन धर्मसंस्कृति सङ्गठन केन्द्रीय कार्यालयको तीनकुनेमा उद्घाटन गर्दै उनले नेपाल हिन्दू, बौद्ध र किराँत धर्मको उद्गमस्थल भएको चर्चा गरे ।
धार्मिक मूल्य, मान्यता र आस्थाका आधारमा नेपाल विश्वकै जेठो र सम्पन्न मुलुक भएको उल्लेख गर्दै उनले वैदिक मूल्य मान्यताका आधारमा काम गर्न धर्मलाई समाज र देश विकासमा जोड्न सके सकारात्मक सन्देश दिन सकिने बताए ।

अध्यक्ष थापाले लोभ, लालच र प्रलोभनका आधारमा गरिएको धर्म परिवर्तन तत्काल रोकिनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराए । कार्यक्रममा सङ्गठनका अध्यक्ष पुष्पराज पुरुषले सङ्गठनलाई मुलुककै बलियो धार्मिक सङ्गठन बनाउन लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।