गण्डकी प्रदेश

महाप्रबन्धक र सञ्चालक सदस्यद्वारा कार्यालय निरीक्षण

पोखरा । राष्ट्रिय समाचार समितिका महाप्रबन्धक ओपेन्द्र शर्मा र सञ्चालक सदस्य दयाराम दाहालले आज पोखरास्थित रासस गण्डकी प्रदेश कार्यालय निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा उनीहरूलाई कार्यालयको विद्यमान भौतिक अवस्था एवं यहाँबाट भैरहेको सेवाप्रवाह लगायतमा कार्यालय प्रमुख प्रभाषचन्द्र झा, उपसमाचारदाता वासुदेव पौडेल, भोलानाथ पौडेल लगायतले जानकारी गराए ।

उक्त क्रममा महाप्रबन्धक शर्माले पोखराको भवन जीर्ण अवस्थामा रहेका कारण यसलाई भत्काएर नयाँ बनाउने सम्बन्धमा प्रकृया बढिरहेको जानकारी दिँदै यस सम्बन्धमा चाँडैं नै निष्कर्षमा पुगिने बताए ।

सञ्चालक सदस्य दयाराम दाहालले पोखरा कार्यालयमा समाचार सेवाका लागि आवश्यक पूर्वाधार कमी रहेका कारण यसको अविलम्ब व्यवस्थापन गरिने बताए । निरीक्षणका क्रममा नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाका अध्यक्ष नारायणप्रसाद घिमिरे र शाखाका पूर्वअध्यक्ष विष्णु नेपालको पनि सहभागिता थियो ।