गण्डकी प्रदेश

विस्थापित बस्तीमा खानेपानीको अभाव

गोरखा । गोरखा नगरपालिका–६ सिमलचौरको विस्थापित बस्तीमा खानेपानीको अभाव भएको छ । भूकम्पपछि जोखिममा परी केरौजाबाट विस्थापित भएर आएका भूकम्पपीडितको बस्तीमा खानेपानीको अभाव भएको हो ।

उक्त बस्तीका बासिन्दालाई अहिले एक गाग्री पानीका लागि एक घण्टाभन्दा बढी समय कुर्नुपर्ने बाध्यता रहेको सिमलचौरीका कान्छी गुरुङले जानकारी दिए । “पानीका लागि वरिपरि सार्वजनिक मूल छैन, उनले भने, “अलि नजिक रहेको खेतको मूलमा पानी लिन जाँदा खेतको धनीले सघैँ भोलिबाट नआउनु भने ।” त्यहाँ पनि एक ग्रागी पानी भर्न मात्रै एक घण्टाभन्दा बढी समय लाग्ने गरेको उनले बताए ।

केरौजामा घर बनाउने ठाउँसमेत नरहेपछि २०७४ सालमा यहाँ आइपुगेका विस्थापित भूकम्पपीडितलाई अहिले दिनभरि भने के खाने, के पिउने भन्ने चिन्ता हुने गरेको गुरुङको भनाइ छ । खानेपानीका लागि सहयोग गरिदिन आफूहरुले नगरपालिकासँग पटक पटक आग्रह गरे पनि सुनुवाइ नभएको गुरुङले गुनासो गरे ।

खानेपानीको अभाव भएपछि सिमलचौरका बासिन्दाको पानीको मुहान खोजीमा दिन बित्न थालेको छ । “हामीलाई पानीको मुहान र पाइप मात्र कसैले दिए पनि पुग्थ्यो, स्थानीय काजीराम गुरुङले भने, “बरु अरु जति काम गर्न परे पनि हामी आफैँ दुःख गरेर भए पनि गरथ्यौँ । “गुरुङले अन्नपात बरु ऋण खोजेर भए पनि किन्न जाँदा सजिलो हुने तर पानी नहुँदा भने साह्रै नै हैरानी हुने गरेको बताए ।नगरपालिकालाई पनि धेरै पटक पटक भनिसकेका छौँ, गुरुङले भने, “सर्भे गर्न पठाउँछौँ भने तर अहिलेसम्म कोही पनि बुझ्न आएको छैन ।

” विस्थापित बस्तीमा खानेपानीसँगै बिजुलीको पनि समस्या भएको उनीहरुको भनाइ छ ।  सिमलचौरमा बसेबास शुरु गरेको डेढ वर्ष हुँदा पनि नगरपालिकाको छेउमा पनि बिजुली र खानेपानीको दुःख भोग्नुपर्दा आफ्नो पुरानो बस्तीको सम्झना आउने उनले बताए । “त्यही सबै कुरा थियो चिनेजानेका सबै हुन्थेँ, खेतीपातीबाट थोरै भए पनि आफ्नै बारीमा उब्जनी हुन्थ्यो, गुरुङले भने, “यहाँ हामीलाई न कसैले सहयोग गर्छन् न हाम्रो समस्या बुझिदिन्छन् नत हाम्रो कुरा नै कसैले सुन्छन्, त्यति पहिरोको पिर छैन भन्ने मात्र हो । उत्तरी गोरखाका केरौजा, सामालगायतका जोखिमपूर्ण बस्तीबाट २२ भन्दा बढी विस्थापित परिवार सिमलचौरमा आएर बसेका छन् ।