खेलकुद

गोदावरीमा प्याराग्लाइडिङको रोमाञ्चक खेल

गोदावरी । खुला आकाशमा चराझैँ उड्न चाहने साहसिक खेलमा रमाउन उपत्यकावासीले अब बाहिरी जिल्ला धाउनु पर्दैन । हावाको बेगमा रम्दै सुन्दर हरियाली, विभिन्न हिमशृङ्खला र उपत्यका एकैसाथ हेरेर रमाउन महत्वपूर्ण गन्तव्य बन्न पुगेको छ ललितपुरको गोदावरी । उक्त अवसर छोप्दै चलचित्र अभिनेता नाजिर हुसेनले केही दिन अघि गोदावरीमा साहसिक खेल (प्याराग्लाइडिङ) को मजा लिए । कुनै पनि चलचित्रमा आकाशबाट अभिनय नगरेका हुसेनले वास्तविक जीवनमै पहिलोपटक उडेर अविस्मरणीय क्षण सङ्गाले ।

“सोच्थेँ प्लेनमा चढेजस्तै हुन्छ होला, घरहरु कार्टुनजस्तै देखिन्छ होला, तर होइन रहेछ, पहिलोपटक यति तलबाट उडेर अनुभव सङ्गाल्दा अविश्मरणीय बन्यो”, हुसेनले भने । उड्ने बेलामा केही सेकेण्ड कुद्नु पर्छ । कुद्दा अनि आकारमा अप एण्ड डाउन तथा स्वीप हुँदा अलि डरजस्तो लागे पनि त्यसको आनन्द छुट्टै रहेको भन्दै हुसेनले एक किसिमको प्यारासुटसँगको खेलको अनूभूति गराएको सुनाए । अघिल्लो हप्ता गायक सागर आलेले पनि गोदावरीको चापाखर्कमा पुगेर प्याराग्लाइडिङमा चराझैँ उडेर नयाँ अनुभव लिए । आलेले भने, “शुरुमा डर महसुस भएको थियो, जब पाइलटले ब्रिफिङमा ९९ प्रतिशत सुरक्षित हुन्छ भने, अनि उडीहालौँ झैँ लाग्यो ।”

आकासमा उड्दा उनले प्रेमको साम्राज्य र खाइदेउ गोरी बोलको गीतसँगै नारायणगोपाल, अरुण थापालगायत गायकका चर्चित गीतसमेत गाएर मनोरञ्जन लिए । पोखरामा प्रख्यात साहसिक पर्यटनको रुपमा चिनिने प्याराग्लाइडिङ अब उपत्यकामै पाउनु खुशीको कुरा भएको यहाँ पुग्ने पर्यटकको भनाइ छ । डेढ दशक अघि पोखराको सराङकोटबाट शुरु भएको साहसिक खेल अहिले विभिन्न जिल्लामा फैलँदै छ । देशको राजधानी रहेको उपत्यकामै प्याराग्लाइडिङ सञ्चालन भएपछि मजा लिन अब पोखरा धाउनुपर्दैन ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक लिलाबहादुर बानियाँ गोदावरीको यो एउटा मात्रै प्याराग्लाइडिङ स्पट, साहसिक पर्यटनका लागि महत्वपूर्ण आयाम भएको बताए । काठमाडौँबाट तुरुन्त जान सकिने यो नयाँ गन्तव्यका कारण पर्यटन प्रवद्र्धन हुने विश्वास गरिएको बानियाँले बताए । नेपाल भ्रमण वर्ष सन् २०२० मा २० लाख बढी पर्यटक भित्र्याउने सरकारी लक्ष्य छ । यसलाई पूरा गर्न यसले ठूलो मद्दत गर्ने छ ।