गण्डकी प्रदेश

नदीजन्य वस्तु अवैध उत्खनन

जुम्ला । जुम्लाको तिला कर्णाली र हिमा कर्णाली नदीमा नदीजन्यवस्तु बालुवा गिट्टी अवैधरूपमा उत्खनन र चोरी निकासी हुने गरेको छ । स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले विकास निर्माणका लागि बजेट पुगेन भन्ने गरेका छन् तर आन्तरिक राजश्व सङ्कलनमा चासो दिएको पाइँदैन ।

स्थानीय तहका लागि आन्तरिक राजश्व सङ्कलन गर्न सकिने नदीजन्य वस्तु गिट्टी, बालुवा लाखौँ घनमिटर रातदिन चोरी निकासी र उत्खनन भइरहेको छ, तर यहाँका सरोकारवाला निकाय मौन छ । चन्दननाथ नगरपालिकाको तिलानदीअन्र्तगत पर्ने दानसाँघु, छिनासाँघु, उठिल्यालगायतका क्षेत्रमा नदीजन्य वस्तुको उत्खनन र चोरी निकासी भइरहेको छ । अनुमतिविना नदीको धार र स्वरूप परिवर्तन हुने गरी डोजरको प्रयोग गरेर नदीजन्य पदार्थको उत्खनन हुँदै आएको छ ।

जथाभावीरूपमा नदीजन्य पदार्थ उत्खनन गर्दा नदीको धार परिवर्तन भई खेतीयोग्य जमीन कटानको जोखिम बढेको स्थानीय रामबहादुर नेपालीले बताए । स्थानीय जनप्रतिनिधि, प्रहरी प्रशासन मौन भएका कारण अवैध र जथाभावीरूपमा नदीको दोहन हुँदा पनि कारवाही नभएकाले यस्तो गतिविधि मौलाएको स्थानीयबासीको गुनासो छ ।

सम्बन्धित निकायको अनुमतिविना नदीबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गरेर चोरी निकासी भएको हो । नदीजन्य पदार्थको उत्खननका लागि जिल्ला समन्वय समिति (जिसस) सँग सम्झौता गर्नुपर्ने व्यवस्था छ । तिला नदीमा नदीजन्य पदार्थको उत्खनन र निकासीका लागि कसैले पनि अनुमति नलिएको र सम्झौताविपरीत डोजर, ब्याकलोडरको प्रयोग गरेर उत्खनन गर्नु अवैध काम भएको जिससका उपप्रमुख कार्मा बुढाले बताए । जिससमा बुधबार बसेको बैठकले गाउँ तथा नगरपालिकाले आ–आफ्नो क्षेत्रमा वातावरण प्रभाव मूल्याकङ्न गरेर बोलपत्र आह्वान गरी मूल्य बढीबढाउका आधारमा नदीजन्य वस्तु गिट्टी, बालुवा उत्खनन गर्न दिने निर्णय गरेको थियो ।