सूचना प्रविधि

मेसिन सर्ट हुँदा सबै सेवा बन्द हुन पुगेको इन्टरनेट पुनः सञ्चालनमा

हुम्ला । हिमाली जिल्ला हुम्लामा पाँच दिनसम्म अवरुद्ध भएको इन्टरनेट एडिएसएल सेवा बुधबारदेखि सञ्चालनमा आएको छ ।

गत शनिबार बिहान ८ बजेदेखि बन्द भएको इन्टरनेट, एडिएसएल सेवा बुधबार नेपागञ्जमा रहेको क्षेत्रीय निर्देशनालयबाट इञ्जिनीयर आएपछि इन्टरनेट सेवा सञ्चालनमा आएको छ । नेपाल टेलिकम शाखा कार्यालय सिमीकोटमा रेडियो लिङ्कमा मेसिन सर्ट हुँदा सबै सेवा बन्द हुन पुगेको शाखा प्रमुख शिवप्रसाद भट्टराईले बताए ।

पाँच दिनसम्म इन्टरनेट बन्द हुँदा बैंकलगायत अन्य कार्यालयका कामकाज प्रभावित भएका थिए । सिमीकोट शाखामा रहेको रेडियो लिङ्क सर्ट हुँदा नयाँ मेशिन रेडियो लिङ्क हुम्ला पुगेपछि इन्टरनेट सेवा सञ्चालनमा आएको शाखा प्रमुख भट्टराईले बताए । इन्टरनेट बन्द हुँदा इमेल र फ्याक्स गर्न समस्या भएको थियो ।