समाचार

कुमाल समुदायमा समस्याको चाङ

भोजपुर । भोजपुर जिल्लाको उत्तरी क्षेत्रमा पर्ने षडानन्द नगरपालिका वडा नं ६ मा अवस्थित मोथेटार गाउँमा कुमाल समुदायको बसोवास छ । अरुण नदीको किनारमा पर्ने यो वस्ती निकै सुन्दर छ । उनीहरुको यहाँ ३३ घर छ । वस्तीमा रहेका ७ घरपरिवारको आफ्नै नामको जमीन छैन, अर्काको बनिबुतो नगरी चुलोमा आगो बल्दैन ।

उनीहरुको दिनचर्या कुटोकोदालो गर्नु, माटाको भाँडा बनाउनु र अरुण नदीमा गएर माछा मार्नु हो । उनीहरुलाई बिहान र बेलुकाको छाक टार्नै समस्या हुने गरेको लोपोन्मुख कुमाल समुदायका अगुवा नर वहादुर कुमालले जानकारी दिए । उनले भने – “लोपोन्मुख कुमाल समुदायमा समस्यै समस्या छ । यहाँका मानिसलाई तीन महिना पनि खान पुग्दैन । हाम्रो समुदाय सबै क्षेत्रमा पछाडि परेको छ ।”

बाबुआमा निरक्षर भएकाले छोराछोरी पनि विद्यालय शिक्षाबाट वञ्चित छन् । उनले भने – ‘‘आमाबुबालाई छाक टार्नै समस्या छ । भोको पेटमा बालबालिकालाई विद्यालय सकिँदैन । त्यही भएर हाम्रा समुदायका धेरै बालिका विद्यालय जाँदैनन् ।”

उनीहरुलाई खान बस्न निकै समस्या हुने गरेको छ । गरीबीकै कारण कुमाल समुदायका अधिकाँश बालबालिका शिक्षाको पहुँच भन्दा बाहिर रहेका छन् । गाउँमै जनचेतना प्राथमिक विद्यालय सञ्चालनमा छ तर, बालिकाहरु विद्यालय जाँदैनन । माध्यमिक शिक्षा लिन दिङ्ला अथवा अर्को जिल्ला संखुवासभा जानु पर्ने बाध्यता छ । त्यो पनि खोलामा पुल नहुँदा समस्या हुने गर्छ ।

जिल्लामै रहेको अरुण मावि जान पनि उनीहरुलाई तीन घण्टा भन्दा बढी समय लाग्ने विद्यालयका शिक्षक श्रीकृष्ण बोगटीले बताए । बोगटीले भने – “त्यो समुदायका अधिकाँश मानिस शिक्षाको पहुंच भन्दा बाहिर छन् । विद्यालय शिक्षाका लागि संखुवासभाको तुम्लिङटार जानुपर्छ । अरुण नदीमा पुल छैन । गरीबीका कारण पनि कुमाल समुदायका शिक्षार्थीलाई उच्च शिक्षात हासिल गर्न समेत समस्या छ ।”

राज्यले निःशुल्क शिक्षाको व्यवस्था गरेको भए पनि यस समुदायमा बालबालिकालाई विद्यालय जान कापी कलम समेत किन्न समस्या हुने गरेको छ । बालबालिका अलि ठूला भए पछि अभिभावकले आफ्नै पेशा व्यवसायमा लगाउने गरेका छन् ।