राजनीति

अहिलेको कम्युनिष्ट सरकारले उद्योगधन्दाको विकास गर्न चाहदैँन- सभापति देउवा

वीरगञ्ज । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काङ्गे्रसका लागि प्रजातन्त्र जीवनमरणको सवाल भएकोले यसलाई कसैले मास्न नसक्ने बताएका छन् । वीरगञ्जको आदर्शनगरस्थित चारतारे होटल दियालो लर्डको आज उद्घाटन गर्दै सभापति देउवाले कुनै पनि हालतमा भए पनि लडेर प्रजातन्त्रको रक्षा गर्ने बताए ।

प्रजातन्त्र प्राप्तिका लागि विसं २००७ को क्रान्ति वीरगञ्जबाटै शुरु भएकाले यसको रक्षा गर्न नेपाली काङ्गे्रस सदैव तयार रहेको भन्दै पूर्व प्रधानमन्त्री देउवाले ऐतिहासिक महत्व बोकेको वीरगञ्जको विकासका लागि नेपाली काङ्ग्रेस सधैँ तयार रहेको छ भने ।वर्तमान सरकारले उद्योगधन्दाको विकास गर्न नचाहेको भन्दै उनले वर्तमान सरकारले निजी क्षेत्रलाई लगानी गर्ने वातावरण बनाउन नसकेकाले उद्योगधन्दा फस्टाउन नसकेको बताए । उनले भारतीय बजार नजिकै रहेकाले वीरगञ्जमा विदेशी लगानीकर्ता आकर्षित हुने भएकाले लगानी गर्ने वातावरण बनाउनेतर्फ वर्तमान सरकारले जोड दिनुपर्ने बताए ।

सो अवसरमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सङ्घीय सरकारले लगानीकर्तालाई आकर्षित गर्ने तथा लगानी गर्ने वतावरण बनाउन सके मुलुकको अन्य प्रदेशभन्दा प्रदेश नं २ नमूना प्रदेश बन्ने बताए । नीति निर्माताका कारण प्रदेश नं २ को विकास हुन नसकेको भन्दै उनले मुलुकको हितभन्दा निश्चित व्यक्तिको हित भइरहेकाले प्रदेश नं २ मा उद्योगधन्दाको विकास हुन नसकेको बताए । सो अवसरमा पूर्वमन्त्री डा. प्रकाशशरण महतले देशलाई कसरी समृद्ध गर्ने भन्ने सवालमा नेपाली काङ्ग्रेस लोकतन्त्र, जनाधिकार र हरेक क्षेत्रमा नागरिकको अधिकार सुनिश्चित गर्ने कुरालाई लिएर अगाडि बढिरहेको बताए ।

सांसद प्रदीप गिरी, विनोदकुमार चौधरी तथा पूर्व सांसद तथा उद्योगपति अनिल रुगङ्टाले निजीक्षेत्रको लगानीले अर्थतन्त्रको विकासमा योगदान पु¥याउने भएकोले प्रदेश नं २ को आर्थिक विकासका लागि सरकारले लगानी गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । चार वर्ष लगाएर बनेको सो १० तले होटलमा दुई हल, स्वीमिङग पुल, जिमखाना गरी ६० कोठा रहेका छन् । वितीय संस्थाको ऋण लगानीमा निर्माण भएको सो चारतारे होटलको कुल लगानी रु एक अर्ब करोड रहेको छ ।