स्वास्थ्य

सेनाको शिविरमा सर्वसाधारणको घुइँचो

राजविराज । नेपाली सेनाद्वारा यहाँ सञ्चालित बृहत् निःशुल्क घुम्ती स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गराउन आउने सर्वसाधारणको घुइँचो लागेको छ । राजविराज नगरपालिकास्थित पब्लिक विन्देश्वरी उच्च माध्यमिक परिसरमा सञ्चालित उक्त शिविरमा दैनिक चार हजार सर्वसाधारणको स्वास्थ्य परीक्षण हुँदै आएको छ । स्वास्थ्य शिविरमा आउने सर्वसाधारणको चापका कारण शिविर व्यवस्थापन गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको छ । स्वास्थ्य शिविरमा हालसम्म विभिन्न रोगका १५० भन्दा बढी बिरामीको शल्यक्रिया भइसकेको छ । फागुन १ गतेबाट शुरु भएको शिविरमा पुगेर २१ हजार सर्वसाधारणले सेवा लिइसकेका छन् ।

तराईको सुगम जिल्ला भएर पनि गरीबी, अशिक्षाका कारण यस क्षेत्रका जनतामा स्वास्थ्यको पहुँच निकै कमजोर रहिआएको छ । उक्त शिविरमा स्वास्थ्य परीक्षण गर्न आउने बिरामीलाई सेनाले निःशुल्क औषधि उपलब्ध गराएको छ । विशेषज्ञसहितको सबै सुविधा उपलब्ध गराइएको उक्त घुम्ती शिविरमा सप्तरीका ग्रामीण भेगका साथै सिन्धुली, उदयपुर, सिरहालगायतका जिल्लाबाट ठूलो सङ्ख्यामा सर्वसाधारण पुगेका छन् । उक्त शिविरमा आउने सर्वसाधारणमा सबैभन्दा बढी हर्निया र पित्तथैलीको पत्थरी भएको भेटिएको चिकित्सकले जानकारी दिएका छन् ।

स्वास्थ्य परीक्षण गराउन ग्रामीण भेगका सर्वसाधारण आफ्नो झिटीगुन्टा बोकेर शिविरमा पुग्नेको सङ्ख्या उल्लेख्यरूपमा रहेको पाइएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले शिविरबाट प्रदान गरिँदै आएको सेवाको जानकारी लिँदै सर्वसाधारणको सुविधालाई ध्यान दिएर काम गर्न निर्देशन दिए ।