लुम्बिनी

विदेशी लगानीमा विद्यालय भवन निर्माण

लमही । विदेशी लगानीमा दाङको एक सामुदायिक विद्यालयको भवन निर्माण पूरा भएको छ । क्यानडा सरकारको रु १५ लाख र गाउँपालिकाको रु १५ लाख सहयोगमा गढवा गाउँपालिका–७ को जनता माध्यमिक विद्यालयको चारकोठे भवन निर्माण सम्पन्न भएको हो ।

क्यानडा सरकारका कर्मचारी नै खटिएर निर्धारित समयभन्दा अघि नै काम पूरा गरेका हुन् । १४ विदेशी र छ जना सिपी नेपालका प्राविधिक पनि आएको विद्यालयका प्रधानाध्यापक रामसुरत यादवले बताए । कात्तिकको पहिलो सातादेखि निर्माणको काम शुरु भएको उक्त भवन निर्माणको काम फागुनभित्रै सकिएको हो । कम्प्युटर कक्ष, सूचना प्रविधि कक्ष, विज्ञान प्रयोगशाला, पुस्तकालय व्यवस्थापनका लागि भवन निर्माण हुन लागेको उनले बताए ।

विद्यालयमा विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको तर भवन जीर्ण हुँदा समस्या भएको भन्दै विदेशी लगानीकर्तासँग समन्वय गरेर भवन निर्माण गरेको गाउँपालिका अध्यक्ष सहजराम यादवले बताए । “विद्यालयमा विद्यार्थीको सङ्ख्या धेरै छ”, उनले भने, “तर भवन जीर्ण हुँदा पठनपाठनमा समस्या थियो, त्यसैले भवन निर्माणमा विदेशी लगानी पनि भित्र्याएका हौँ ।”

प्रअ यादवका अनुसार अहिले विद्यालयमा जम्मा एक हजार ६०० विद्यार्थी रहेका छन् । भवन निर्माण भएपछि विद्यार्थीलाई पठनपाठनमा सहज हुनुका साथै तथा प्रविधिमैत्री विद्यालय बनेकोसमेत बताए ।