समाचार

आन्तरिक लोकतन्त्रको लडाइँमा नेविसंघलाई मेरो साथ छः भीमसेनदास प्रधान

काठमाडौं । नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई सशक्त बनाउनु पर्ने बताएका छन्। लोकतान्त्रिक पार्टी भनिएपनि त्यही अनुरुपको व्यवहार गर्नुपर्नेमा जोड दिए।

राजधानीको कमलादीस्थित प्रज्ञाभवनमा प्राविधिक विद्यार्थी परिषदले प्रजातन्त्र दिवसका अवसरमा आयोजना गरेका ‘आन्तरिक लोकतन्त्र र नेपाली कांग्रेस’ विषयक विचार गोष्ठीका प्रमुख अतिथि पूर्वरक्षी मन्त्री एवं सांसद प्रधानले पार्टीलाई सशक्त बनाउनका लागि तल्लो तहबाटै एकताबद्ध र पारदर्शी बनाउनु पर्ने बताए।

नेपाल विद्यार्थी संघ नेपाली कांग्रेसको आधारस्तम्भ रहेको बताउँदै प्रधानले विद्यार्थी आन्दोलनलाई अघि बढाउन अब कुशल नेतृत्व आउनु पर्ने बताए।

‘भोलि राष्ट्रको निर्माण गर्ने भएको अहिलेका विद्यार्थीले नै हो,’ उनले भने, ‘त्यसैले जुट्नुस्, कांग्रेसलाई सशक्त बनाउन दबाब दिनुस्, हामी तपाईहरुको साथमा छौं, आन्तरिक लोकतन्त्रको लडाइँमा नेवि संघलाई मेरो साथ सधैँ रहने छ।’

नेवि संघको निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले विद्यार्थी आन्दोलनलाई निस्तेज पार्न तथा लोकतान्त्रिक पद्धतिविरुद्ध पार्टीका केही नेताले संगठनलाई प्रयोग गर्न खोजे त्यसको प्रतिरोध गर्ने उद्घोष गरे।

कार्यक्रममा नेपाली कांग्रेसका सिन्धुपाल्चोक सभापति विकास लामा, तरुण दलका नेता भागवत रेग्मी, विद्यार्थी नेताहरु बलदेव तिमल्सिना, डिल्लीराम सुवेदी,जित शेरचन, युवराज पाण्डे, सुशील भट्ट, लगायतको उपस्थितिमा रहेको आयोजक समिति अध्यक्ष सुवास घिमिरेले बताए।