राजनीति

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार अनिवार्यः वरिष्ठ नेता पौडेल

दमौली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शैक्षिक जागरणका लागि निर्मल माध्यमिक विद्यालयले महत्वपूर्ण योगदान दिएको बताएका छन् ।

विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले तनहुँको शैक्षिक क्षेत्रमा विद्यालयले आफ्नो विशिष्ट पहिचान कायम गरेको भन्दै त्यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । उनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार अनिवार्य भएकोले यसका लागि सबै सरोकारवालाबीच समन्वय आवश्यक रहेको बताए । उनले भने, “व्यावसायिक शिक्षालाई नै जोड दिँदै विद्यालयले प्राविधिक शिक्षासमेत सञ्चालन गरिरहेको छ, यो सकरात्मक छ ।”

स्वर्ण महोत्सवको अवसरमा विद्यालयमा सम्मान, खेलकूद तथा पुरस्कार वितरण, पूर्वविद्यार्थी पुनःमिलन, विज्ञान प्रदर्शनी, रक्तदान लगायतका कार्यक्रम सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले जानकारी दिए । सोही अवसरमा विद्यालयका पूर्वविद्यार्थी ज्योति न्यौपानेले आफ्ना दाजुको स्मृतिमा विद्यालयमा एक लाख राशीको अक्षयकोष स्थापना गरेका छन्। पूर्वविद्यार्थी हरिसिहं गुरुङले प्रत्येक वर्ष खेलकूदमा उत्कृष्ट हुने छात्रछात्राका लागि एक लाख राशीको बाल खेलकूद प्रतिभा अक्षयकोष स्थापना गरेका छन् ।
विसं २०२५ फागुन ७ गते तनहुँ सदरमुकाम बन्दीपुरबाट दमौली सार्ने क्रममा भएको आन्दोलनमा ज्यान गुमाएका जामुनेका निर्मल रानाभाटको स्मृतिमा विद्यालय स्थापना भएको थियो । प्रधानाध्यापक बस्नेतका अनुसार विद्यालयले नमूना विद्यालय कार्यक्रमअन्तर्गत प्राप्त गरेको दुई करोड बजेटबाट खेलकूद मैदान, शैक्षिक पुर्वाधार, बहुउद्देश्यीय भवन लगायतलाई प्राथमिकतामा राखेर गुरुयोजना बनाइरहेको छ ।